© २०२३
काठमान्डौ, २७ कार्तिक ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महिला भेलाको आयोजना गरेको छ । पार्टीमा विशेष महाधिवेशनको लागि हस्ताक्षर बुझाएको समूहले बिहीबार नयाँ बानेश्वरमा महिला भेला सञ्चालन गर्ने भएको हो ।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार, नयाँ बानेश्वरस्थित थापागाउँ अर्पण ब्यांक्वेटमा बिहान साढे ११ बजे महिला भेला सुरु हुने छ ।
विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा झण्डै एक महिनादेखि महाधिवेशनलाई लिएर विवाद जारी छ । संस्थापन पक्षले २१ फागुनमा तय भएको निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने, संस्थापनबाहेकको समूह निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा छ । उनीहरूका अनुसार आगामी पुससम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको बाटो अपनाउनुपर्ने हुन्छ ।
विशेष महाधिवेशन पक्षधरले शुक्रबार अर्पण ब्यांक्वेटमै युवा भेला आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा साझा गरिएको पोस्टअनुसार, युवा भेला शुक्रबार साढे १२ बजेका लागि बोलाइएको छ ।