© २०२३
काठमान्डौ, २७ कार्तिक ।
जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नगरी निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले संचालन गर्दै आएको नेपाल स्काउटको जग्गामा संरचना हटाउने प्रयोजनका लागि पुगेका गुरुङले यस्तो स्पष्ट पारेका हुन् ।
उनका अनुसार, केही बाहेक सबै जेनजीहरु एक ठाउँमा छन् र उनीहरूको माग पूरा हुनु आवश्यक छ । माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् ।
उनले भने- ‘समग्र हामी जेनजीहरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरूलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’
गुरुङले आफूहरूका माग पूरा नगरी निर्वाचनको तयारी गर्नु गृहमन्त्रीको धोका भएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार, जेनजीका माग पूरा गर्न छोडेर चुनावको रटान मात्र लगाइएको छ ।