Butwal Today

रूपन्देहीमा पहिलोपटक भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

बुटवल, २७ कार्तिक ।

तराईको रुपन्देही जिल्लामा पहिलोपटक किङ कोब्रा (राज गोमन)  सर्प फेला परेको छ । सामान्यतया हाडी र मध्यपहाडी क्षेत्रमा पाइने यो दुर्लभ सर्प रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा भेटिएको हो ।

घरमा असामान्य रूपमा लामो र ठूलो सर्प देखेपछि राना परिवारले तत्काल सर्प उद्धारकर्तालाई खबर गरेका थिए । उद्धारकर्ता विशाल पाण्डेका अनुसार उक्त किङ कोब्राको लम्बाइ १२ फिट ३ इन्च र तौल ७ किलो २०० ग्राम रहेको छ ।

उनको नेतृत्वमा बुटवल स्नेक रेस्क्यू टिमका नवीन पौडेल, सागर पाण्डे र विश्वास पाण्डे सहितको टोलीले करिब तीन घण्टाको प्रयासपछि सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो ।

उद्धार गरिएको किङ कोब्रालाई डिभिजन वन कार्यालयको रोहबरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्रमा पु¥याई छोडिएको देवदह–१० का वडाअध्यक्ष एकबहादुर सुनारले जानकारी दिए ।

नेपालमा अत्यन्त दुर्लभ प्रजातिका रूपमा मानिने राज गोमन पछिल्ला वर्षहरूमा मध्यपहाडी क्षेत्रका केही स्थानमा मात्र देखिएको छ ।

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा यसले मानिसलाई डसेको कुनै आधिकारिक तथ्य नदेखिएको विज्ञहरूको भनाइ छ । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको र यसले मुख्यतः अन्य सर्पलाई आहाराका रूपमा खाने गरेको उद्धारकर्ता नवीन पौडेलले बताए ।

१४ वर्षअघि बुटवलको फूलबारी क्षेत्रमा मृत अवस्थामा एक किङ कोब्रा फेला परेको थियो ।

उद्धारकर्ता विशाल पाण्डे नेतृत्वको टिमले यस वर्ष मात्रै रुपन्देहीको तिलोत्तमास्थित विभिन्न घरहरूबाट २३ वटा अत्यन्त विषालु कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित ४०० भन्दा बढी सर्प उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिसकेको छ ।