© 2026
नवलपरासी, २७ कार्तिक ।
जिल्लाको सदरमुकाम परासीमा करोडौँ लगानी भएको र निर्माण कार्य सम्पन्न दुई वर्ष बित्दा पनि बसपार्क जाने पहुँच मार्ग निर्माण नहुँदा बसपार्क नै अलपत्र परेको छ ।
दुई वर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि पहुँच मार्ग निर्माण नभएको बहनाबाजी गर्दै नगरपालिकाले उक्त बसपार्क सञ्चालनमा ढिलाई गर्दा बसपार्क नै अलपत्र अवस्थामा देखिएको हो ।
बसपार्क सञ्चालनमा नआउँदा करोडौँको सरकारी लगानी खेर गई रहेको स्थानीयले जनाएका छन् ।
बसपार्क निर्माणमा पाँच करोड लगानी गर्ने निकायले १ करोड लगानी गरी पहुँच मार्ग बनाइ दिएको भए बसपार्क सञ्चालनमा नगरपालिकाले बहाना बनाउन सक्दैनथ्यो, नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले भने, अर्बको बजेट बनाउने नगरपालिकाले पनि यस्तै पहुँच मार्ग बनाउन सक्दैन ।
नेपालका विकासको यो के मोडेल हो, उनले आश्चर्य ब्यक्त गर्दै थपे, पूर्वाधार लगानी जो जसले गरे पनि नेपाली जनताकै करले उठ्ने राजस्वले बजेट बन्छ, ऋण लिएर काम गरे पनि नेपालीकै टाउकोमा ऋणको भार जोडिन्छ ।
करोडौँ खर्चिने बजेटमा लाभ लिइने ठेकेदार, प्राविधिक र जनप्रतिनिधि नै गैर जिम्मेवार बने पछि नागरिकले दुखेसो बिसाउने बाहेक के नै गर्न सक्छन् ?
उनले पहुँच मार्ग देखाउँदै भने, पहुँच माग पहिला देखिकै नगरपालिकाकै सडक हो, नगरबासी तँ परापूर्व कालदेखि नै आऊ जाँउ गर्ने मार्ग हो । नगरपालिकाकै जिम्मेवारी सम्झेर नगरपालिकाले नै उक्त सडक बनाई दिए पनि त बसपार्कसम्म यातायातका साधनहरू सहज ढङ्गले जान्थे ।
बसपार्क शहरी विकासले बनाइदिएको भन्दै उक्त मार्ग पनि नगरपालिकाले वर्षौँ देखी स्तरोन्नति मर्मत समेत गरेको छैन । यो नगर बासीकै लागि दुर्भाग्य भएको सुनाए । बसपार्क बनाउन भनेर नगरपालिकाकै आग्रहमा स्थानीयले उपयोग गर्दै आएको सार्वजनिक जग्गा बसपार्क निर्माणका लागि दिन सहमत भएका थिएन ।
तर अहिले निर्माण भई सकेको बसपार्क दुई वर्ष देखी अलपत्र हुँदा दुःख लागेको छ । लामो समय देखि सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुँदै आएको थियो ।
सो माग अनुसार नै सरकारले बसपार्क बनाई दिएको छ । बसपार्कको सबै काम सम्पन्न भएको दुई वर्ष पुग्यो, तर किन सञ्चालनमा को बाधक बनेको छ ? स्थानीयले प्रश्न गर्न थालेका छन् ।
रामग्राम नगरपालिका वडा नं.४ केरवानी स्थित झरहीखोला किनारमा ५ करोड भन्दा बढी रकम खर्चेर निर्माण भई सकेको निर्माण कम्पनीले जनाएको हो ।
बसपार्क पुग्नका लागि भैरहवा भुमही बन्दरगाह मार्गदेखि करिब एक किलोमिटर दक्षिणमा अवस्थित छ । महेशपुर भन्सार नाकाबाट आउने महेशपुर परासी सुनवल सडकसँग जोडिन नगरपालिका वडा नं. ४ को वार्ड कार्यालय देखी पाँच सय मिटर उत्तरमा रहेको छ । दुवै तर्फबाट सडक जोडिएका छन् ।
दुई वर्ष पहिला नै बसपार्कको निर्माण कार्य सम्पन्न गरी सहरी शाखाको जिम्मा लगाइ सकिएको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता) ले जानकारी गराएका थिए । उनका अनुसार बसपार्कमा बस राख्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउण्ड, उद्यान, प्रवेशद्धार, सुरक्षा गार्ड कक्ष लगायतका पूर्वाधार बनिसकेको छ ।
सबै पूर्वाधारहरूको रंगरोदन समेत भई सकेको अवस्था छ । सहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको छ । वृक्षारोपण लगायतका कार्यले बसपार्क हराभरा भइसकेको अवस्था छ, ।
बसपार्क सञ्चालन नहुँदा स्थानीयलाई मर्निङवाक गर्ने स्थान, सवारी साधन चलाउने र सिक्ने स्थान र उद्यानमा भैँसी चर्ने अवस्थामा भेटाउन सकिन्छ । बसपार्क सञ्चालनमा नल्याउँदा सदरमुकाम परासीका बसहरू बाइपास चोक नजिकै निजी जग्गामा भाडा तिर्दै बस स्टयाण्डको रूपमा प्रयोग गर्दै आएका छन् ।
जसले सडकमा समेत अवरोध सृजना भई रहेको छ । बसपार्क सञ्चालनमा ल्याउँदा बजारमा ट्राफिक समस्या पनि समाधान हुने, नगरपालिकालाई आयस्रोतको रूपमा पनि उपयोग गर्न सक्ने अवस्था हुन्थ्यो, तर यो बसपार्क माल पाएर चाल नपाएको उखान चरितार्थ देखिन्छ ।
बसपार्क सञ्चालन गर्नका लागि अति आवश्यक पूर्वाधारको निर्माण गरी दुई वर्ष पहिला नै कार्यालयले हस्तान्तरण पत्रमा हस्ताक्षर गरी कार्यालयले रामग्राम नगरपालिकालाई बुझाई सकेको कार्यालयबाट नवलपरासीको साइट हेर्ने तत्कालीन सब इन्जिनियर विरेन्द्र मण्डलले जानकारी गराएका थिए ।
उनका अनुसार अन्य पूर्वाधार बिस्तारै बनाउँदै जाने प्रतिबद्धता समेत कार्यालयको थियो । तर नगरपालिकाले चासो लिएर बसपार्क सञ्चालन गर्न पर्थ्यो, तर पूर्ण पूर्वाधार नबनेको र हस्तान्तरण नभएको भन्दै सञ्चालन प्रक्रियाबाट नगरपालिका पन्छिन खोजेको समेत उनको भनाइ थियो ।
अब स्थानीय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्ध गरिदिनुपर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । बसपार्क नहुँदा सदरमुकामका आउने जाने बस तथा यात्रुवाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरू सडक छेउमै उभ्याउने गरिएको छ ।
यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । बसपार्क बनिसकेको छ, एक स्थानीयले भने, स्थानीय प्रशासन र ट्राफिक प्रहरीले पनि अब यातायात व्यवस्थापनमा चासो लिनु पर्छ । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पूर्वाधार थपिएको छ ।
परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौँ, बुटवल जाने सवारीसाधनहरू छुट्ने गर्छ । बसपार्कबाट सवारीसाधन छुट्ने र आआफ्नो रुटमा जाने हुँदा धेरै जसो बजार क्षेत्रको अव्यवस्थित ट्राफिक व्यवस्थापन हुने थियो ।
बाहिरबाट आएका सवारी साधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या हट्ने थियो । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने थियो ।
बसपार्क सञ्चालनबारे प्रतिकृया दिदै नगरपालिकाकी उपमेयर बसपार्क सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको र आफूले नगर कार्यपालिकामा कुरा राख्ने जानकारी गराइन् ।