© २०२३
काठमाडौं, २७ कात्तिक ।
सरकारले आजबाट राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि सहज हुने गरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले आजैबाट लागू हुने गरी यो व्यवस्था अघि बढाएको हो । यस सँगै राष्ट्रिय परिचयपत्र लिएका नेपालीले अनलाइनबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्न सक्नेछन् ।
‘अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गर्न नेपालका कूटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने’ उनले बताए ।
‘उहाँहरूले अनलाइनमार्फत फारम भर्नुभयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक प्रयोग गरेर दाँजिनेछ । त्यसपछि उनीहरूको विवरण स्वतः मतदाता नामावलीमा पनि दर्ता हुनेछ ।’
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ । ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको विवरण छुट्न सक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो ।