© २०२३
काठमान्डौ, २७ कार्तिक ।
बुधबार मात्र ३० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजे सम्म नयाँ मतदाता नामावलीमा २ लाख ३९ हजार ९४० जनाको नाम दर्ता भएको छ, जसमा बुधबार मात्रै ३० हजार ३७३ जना नयाँ मतदाता थपिएका हुन् ।
आयोगका अनुसार आगामी कात्तिक ३० गते सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । दर्ता अवधि अन्त्य हुँदै जाँदा नयाँ मतदाताको संख्या तीव्र रूपमा बढ्दै गएको आयोगले जनाएको छ ।
आयोगका अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा मतदाता नामावली दर्ता कार्यमा उल्लेखनीय तीव्रता आएको छ, किनभने अब राष्ट्रिय परिचयपत्रको तथ्यांक पनि मतदाता नामावली दर्तामा प्रयोग गर्न थालिएको छ ।
आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गर्न लागेको हो । यसका लागि बुधबार राति सम्पूर्ण प्राविधिक तयारी र परीक्षण कार्य सम्पन्न गरिएको आयोगले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् । छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरू सहभागी थिए ।
छलफलका क्रममा आयोगले प्रधानमन्त्रीलाई बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी मतदाता नामावली समावेश प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएको थियो । सो अवसरमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि सहभागी थिए । उनले विभागले संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए ।
आयोगको भनाइअनुसार, यस प्रणालीले राष्ट्रिय परिचयपत्र नम्बर भएका तर निर्वाचन कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने नागरिकका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न थप सहजता प्रदान गर्नेछ ।