काठमाडौं, २७ कात्तिक ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सहचारी नियुक्ति, राशन वृद्धि र चुनाव सुरक्षा जस्ता महत्वपूर्ण विषयहरू उठाएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि २० मिनेट सम्बोधन गर्दै कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने आवश्यकता औँल्याए ।
आईजीपी कार्कीले भने, ‘राज्यको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने प्रवासी नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिका लागि जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नेमा अपेक्षा गरेको छु ।’
नेपाल प्रहरीले यसअघि खाडी मुलुकहरू, अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्ने माग उठाउँदै आएको छ, तर अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन भएको छैन । हाल भारतमा मात्र एक जना एसएसपी दर्जाका प्रहरी सहचारी खटिएका छन्, अन्य मुलुकमा प्रहरी सहचारी छैनन् ।
नवनियुक्त आईजीपी कार्कीले प्रहरीको राशन वृद्धिको आवश्यकताबारे पनि औँल्याए। उनले भने, ‘नेपाल प्रहरीको राशन अन्य सुरक्षा निकायसँग असमान छ र दैनिक कार्य सम्पादनका लागि आधारभूत पोषण अपर्याप्त छ ।’
त्यसैगरी, कार्कीले देशमा निकट भविष्यमा हुने निर्वाचन भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन प्रहरी तत्पर रहेको पनि जानकारी दिए ।



