© २०२३
काठमाडौँ, २६ कात्तिक ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोग तथा सरकारसँग माग गरेका छन् ।
धेरै स्थानमा लामो समय कुर्नुपर्ने र सेवा छिटो छरितो नहुने गुनासो आएपछि उनले कार्तिक मसान्तसम्म दर्ता अवधि बढाएर सबै व्यक्तिले निर्वाचनमा सहभागी हुन पाउनुपर्ने बताएका छन् ।
बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै पूर्वमन्त्री पौडेलले भने, ‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिच्न लामो लाइन बस्दा पनि पालो नआएर फर्किनुपर्ने अवस्था देखिएको छ ।’
उक्त दर्ता समय कार्तिक मसान्तसम्म मात्र रहेको हुँदा अहिलेको अवस्थामा जेनजी तथा अन्य समूहका व्यक्तिहरू छुट्न सक्ने सम्भावना देखिएकोले समय थप आवश्यक रहेको उनले बताए ।
‘निर्वाचन आयोग र सरकारको सहजीकरण प्रचारअनुसार भएको छैन । नामावली दर्ता गर्न आएका व्यक्तिहरूले सजिलोसँग दर्ता गर्न सकेका छैनन् । त्यसैले कार्तिक मसान्तसम्मको समय बढाएर थप समय उपलब्ध गराउन जरुरी छ,’ उनले जोड दिए ।
पौडेलले दर्ता कार्यालयमा काम छिटो र व्यवस्थित गर्ने, थप जनशक्ति र उपकरणको व्यवस्था गर्ने सुझाव दिए ताकि छोटो समयमा बढी काम सम्पन्न गर्न सकियोस् ।
उनी आफैं प्रत्यक्ष सहभागी भएर आफ्ना लागि चाहेको प्रतिनिधि छान्न पाउने अवसर भएकाले जेनजी तथा सबै उमेर समूहका नागरिकलाई मतदाता नामावली दर्ता गरेर सहभागी हुन आग्रह गरे ।
साथै, पौडेलले मतदानका लागि उमेर सीमा १६ वर्ष राख्न र उम्मेदवार बन्ने उमेर २५ वर्ष घटाउनुपर्ने मागसमेत राखेका छन् । उनले भने, ‘बढीभन्दा बढी नागरिक सहभागी भए मात्र जनताले चाहेको सही प्रतिनिधि निर्वाचित हुने अवस्था बन्छ ।’