© २०२३
काठमाडौँ, २७ कात्तिक ।
राष्ट्रिय परिचयपत्र पाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ । आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वतः राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग हुने व्यवस्था मिलाइएको हो ।
निर्वाचन आयोगले आजैबाट लागू हुने गरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट मात्र फारम भर्ने व्यवस्था गरेको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडी कार्ड (राष्ट्रिय परिचयपत्र) बाट बायोमेट्रिक लिएर नामावली संकलन थप सहज बनाइएको जानकारी दिए ।
‘अहिले हाम्रो नेशनल आइडी (राष्ट्रिय परिचयपत्र) को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्छ,’ भण्डारीले भने ।
जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनको भनाइ छ । यसका लागि आयोगले बुधबार रातभर प्राविधिक काम पनि गरेको थियो ।
अहिले धेरै नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाइसकेकाले मतदाता नामावलीका लागि थप सहज हुने विश्वास आयोगले लिएको छ । राष्ट्रिय परिचयपत्र भएका नागरिकहरूका बायोमेट्रिक विवरण अनलाइनबाटै नामावलीमा समावेश गरिनेछ ।
सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छन् ।
ठूलो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गराउने विवरण छुट्नसक्ने देखिएपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो । आयोगको निर्णयसँगै जिल्ला निर्वाचन कार्यालयहरूले कार्यान्वयन सुरु गरेको जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब मतदाता नामावलीका लागि फोटो खिच्ने, बायोमेट्रिक गर्ने लगायतका कामका लागि धाउनुपर्दैन । नभएका भने अनलाइन फारम भरेर बायोमेट्रिकका लागि आउनुपर्नेछ,’ उनले भने ।