© २०२३
काठमाडौँ ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा होहल्ला भएको छ ।
बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न दिएका थिए । उनी बोल्न लाग्दा सदस्यहरूले विरोध जनाए र होहल्ला मच्चियो ।
मन्सुरले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले विरोध गरेका बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । सहमहामन्त्री मन्सुरले १९ कात्तिकमा बसेको बैठकमा आफ्नो धारणा पहिले नै राखिसकेका थिए ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित मन्सुर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेन्डालाई समर्थन गर्दै आएका छन् । फेरि त्यही एजेन्डामा समर्थन गर्न लागेपछि संस्थापनका सदस्यहरूले विरोध गरेका हुन् ।
अहिले मन्सुर बोलिरहेका छन् र कार्यवाहक सभापति खड्काले “साथीहरू बस्नुस्” भन्दै अनुरोध गरिरहेका छन्, तर नेताहरू मानिरहेका छैनन् ।
‘पहिले बोलेको मान्छे अहिले बोल्न पाउँदैन भनेर साथीहरूले विरोध गर्नुभएको हो,’ ती पदाधिकारीले बताए ।