Butwal Today

५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २७ कार्तिक ।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई मात्र पाँच महिनामा सरुवा गरिएको छ ।

अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको थियो । पाँच महिनामै उनलाई बागमती प्रदेशबाट अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको हो। बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालय फर्किएका हुन् ।

सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । उनी शुक्रबारदेखि आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

बराल यसअघि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । उनले अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख र आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।

यसअघि दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिव पदमा बराललाई नियुक्त गरिएको हो । सोही बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।