© २०२३
काठमान्डौ, २७ कार्तिक ।
सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
गत हप्ता उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएको थियो। सो आदेशपछि मुद्दामा थप बहस पनि भएको थियो ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार सुप्रिम सहकारी ठगीसम्बन्धी उक्त मुद्दाको सुनुवाइ आज हुने तय गरिएको हो ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो नाममा परेको बिगो रकम दाखिला गरेर जमानत माग्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते जमानत अस्वीकार गरेको थियो । त्यसको विरोधमा लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको मागसहित निवेदन दर्ता गराएका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि करिब १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले सो रकमको चार भागमध्ये आफूले वहन गर्नुपर्ने भाग बराबर अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा दाखिला गरेको कागजात अदालतमा पेस गरेका छन् ।