Butwal Today

विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका २१ उद्योगले पहिलो किस्ता बुझाए

२७ कार्तिक २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २७ कार्तिक ।

लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका उद्योगहरू मध्ये अधिकांशले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटिएका २५ मध्ये हालसम्म २१ उद्योगले विद्युत महसुलको पहिलो किस्ता तिरेका छन् ।

प्राधिकरणका अनुसार ती उद्योगहरूको कुल बक्यौता रकम ४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेकोमा पहिलो किस्ताबापत हालसम्म १७ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । सबैभन्दा बढी भुक्तानी गर्नेमा जगदम्बा स्टिल कम्पनी अग्रस्थानमा रहेको छ । उक्त कम्पनीले हिजो मात्रै ५ करोड ७२ लाख रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतका उद्योगहरूले पनि पहिलो किस्ता बुझाएका छन् ।

विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरूलाई किस्ताबन्दी सुविधा प्रदान गरेको थियो । सोही सम्झौताअनुसार उद्योगहरूले बाँकी रकम चरणबद्ध रूपमा तिर्ने सहमति जनाएका छन् ।

प्राधिकरणका अनुसार विद्युत महसुल असुली प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन उद्योग क्षेत्रसँग निरन्तर समन्वय भइरहेको छ ।

बक्यौता असुलीमा सकारात्मक प्रगति देखिएको भन्दै प्राधिकरणले बाँकी उद्योगहरूलाई पनि छिटोभन्दा छिटो भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, आगामी महिनाभित्र दोस्रो किस्ता बुझाउने तयारी गर्न उद्योगहरूलाई समयसीमा तोकिएको प्राधिकरणले जनाएको छ ।