© २०२३
काठमान्डौ, २६ कार्तिक ।
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा तय गरिएको हो ।
दुर्गा प्रसाईँ स्वयं भने वार्तामा सहभागी नहुने भएका छन् । उनका तर्फबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापा मगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायत प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सरकारले गत कात्तिक १८ गते प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानलाई पत्र पठाएर वार्तामा निम्तो दिएको थियो । खतिवडाका अनुसार, दुर्गा प्रसाईँ भने मन्त्रीस्तरीय वार्तामा सहभागी नहुने र प्रधानमन्त्रीस्तरीय तहमा मात्र वार्तामा बस्ने तयारीमा छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि आज प्रसाईँ समूहसँग वार्ता हुने पुष्टि गरेका छन् ।
दुर्गा प्रसाईँले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईँको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बनेको थियो, जसमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए ।
यसपटक प्रसाईँले आन्दोलनका लागि नेपाली कांग्रेस (बीपी) सँग सहकार्य गरेका छन् । आन्दोलनको तयारीक्रममा उनले कात्तिक २३ गते काठमाडौंको सुकुमबासी बस्तीमा आयोजित कार्यक्रममा सरकारविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए ।
सुरक्षा निकायका अनुसार, आन्दोलन हिंसात्मक हुनसक्ने आशंकामा प्रसाईँ र उनको समूहमाथि निगरानी कडा बनाइएको छ । यसै सन्दर्भमा, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा प्रहरी प्रमुखहरूले प्रसाईँसँग हालै छलफलसमेत गरेका थिए ।