Butwal Today

विद्युत् कटौतीपछि १४ उद्योगले डेडिकेटेड–ट्रंकलाइन बक्यौता तिरे

२६ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २६ कात्तिक ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १४ उद्योगले बक्यौता रकम बुझाएका छन् ।

प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।

विद्युत आपूर्ति बन्द भएपछि २५ मध्ये घराना फुड्स र गोयन्का फुड्स गरी दुई उद्योगले तत्कालै बक्यौता महसुलको किस्ता तिरेका थिए । दुई उद्योगले किस्ता बुझाएपछि तत्काल लाइन जोडिएको थियो । यससँगै किस्ता तिर्न सुरु गर्ने उद्योग संख्या १४ पुगेको छ । अहिले ११ उद्योगमा विद्युत् काटिएको अवस्था छ ।

प्राधिकरणका अनुसार विद्युत आपूर्ति बन्द गरिएका रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, पञ्चकन्या लगायतका उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । किस्ता बुझाएका सबै उद्योगमा प्राधिकरणले तत्काल लाइन जडान गरिदिएको जनाएको छ ।

यद्यपि, उद्योगीहरूले यसलाई किस्ताका रूपमा नभएर धरौटीका रूपमा भुक्तानी गरेको बताएका छन् । गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगीले धरौटीका रूपमा पहिलो किस्ता तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसपछि केही उद्योगीले धरौटी भन्दै पहिलो किस्ता तिरेका छन् । तर प्राधिकरणले भने किस्ताकै रूपमा बक्यौता बुझेको बताउँदै आएको छ ।

यसमा द्विविधा भएपछि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहमतिका आधारमा बक्यौता असुल गर्न सहजीकरणका लागि ऊर्जा मन्त्रालय र प्राधिकरणलाई पत्र पठाएको छ ।

पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू र बक्यौता रकम:

  • त्रिवेणी सिन्थेटिक : १५ लाख ७१ हजार

  • रिलायन्स स्पिनिङ मिल्स : २ करोड ७७ लाख

  • हुलास स्टिल : ५० लाख ४३ हजार

  • अशोक स्टिल : ६३ लाख

  • हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज : २० लाख ९० हजार

  • पञ्चकन्या प्लास्टिक : २४ लाख ६३ हजार

  • पञ्चकन्या स्टील : ५२ लाख १९ हजार

  • सिद्धार्थ पेटप्लान्ट : १ करोड ८३ लाख

  • श्याम प्लास्टिक : ४९ लाख १० हजार

  • सोनापुर मिनरल एन्ड आयल : ८६ लाख ३० हजार

  • हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख

  • शिवम् सिमेन्ट : २ करोड ३८ लाख

  • घराना फुड्स : ६७ लाख

  • गोयन्का फुड्स : ५२ लाख ७३ हजार

विद्युत काटिएका उद्योग र तिर्नुपर्ने बक्यौता रकम:

  • जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख

  • घोराही सिमेन्ट : ५० करोड ८५ लाख

  • अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख

  • त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख

  • जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख

  • कसमस सिमेन्ट : ९ करोड ७७ लाख

  • निगाले सिमेन्ट : ५ करोड ८१ लाख

  • विशाल सिमेन्ट इन्डस्ट्रिज : ३ करोड ३५ लाख

  • बुटवल सिमेन्ट : १८ करोड ४५ लाख

  • एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख

  • निगाले सिमेन्ट : ५ करोड ८९ लाख

अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका उद्योग र बक्यौता रकम:

  • मारुती सिमेन्ट : ५७ करोड ४५ लाख

  • अरिहन्त मल्टिफाइबर : ११ करोड ५३ लाख

  • युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख

  • रघुपति जुट मिल : ८ करोड ५९ लाख

  • अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख

  • बाबा जुट मिल : २ करोड ४१ लाख