© २०२३
जेनजी आन्दोलन र दशै तथा तिहार, छठ लगायतको चाडपर्वको समापनसँगै पर्यटक आगमनको सिजन पनि सुरु भैसकेको छ ।
नेपालका पर्यटकीय स्थलहरूमा केही सातायता पर्यटकको चाप बढ्न थालेको छ । लुम्बिनीमा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको छ । मनाङ, मुस्ताङ लगायत लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।
तर, कार्तिकको दोस्रो साता परेको पानीका कारण हिमाली जिल्लामा पर्यटकले सास्ती पाएका छन् । तर पनि पर्यटक आगमन रोकिएको छैन । पर्यटकका कारण नेपालको पर्यटकीय स्थलमा चहलपहल मात्रै होइन, त्यसले आर्थिक अवस्था सुधारमा पनि मद्दत पु¥याउँछ ।
विभिन्न मुलुकका पर्यटकहरू नेपाल घुम्न आउने क्रम सुरु भएपछि पर्यटकीय क्षेत्रको विकासमा योगदान र सहयोग पुग्ने निश्चित छ । वैदेशिक पर्यटक आगमनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा करिब १५ प्रतिशतको योगदान दिने गरेको छ । विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा सुधार देखिने गरेको छ ।
नेपालको अर्थतन्त्रका लागि यो खुसीको कुरा पनि हो । नेपालमा भदौमा भएको जेनजी आन्दोलन लगायत भीषण वर्षाका कारण आर्थिक गतिविधि सुस्त बनिरहेको बेला पर्यटक आगमनमा भएको बढोत्तरीले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।
तर, नेपालको अर्थतन्त्रमै टेवा पु¥याउन योगदान दिने पर्यटकहरूमाथि ठगीको घटना रोकिएको छैन, बरु झनै बढ्दो छ । यो चिन्ताजनक कुरा हो । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटक ठगिएका छन् ।
खास गरी भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रमै ठुलो सास्ती दिने गरिएको छ । अर्कोतर्फ विमानस्थलमा ओर्लने बित्तिकै विदेशी पर्यटकलाई हेर्ने र गर्ने व्यवहार अत्यन्त फरक हुन्छ । यसमा नेपालले सुधार गर्नु जरुरी छ ।
उनीहरू बस्ने होटलदेखि यातायात, सामान खरिदारीमा समेत गोरो छाला भएकै आधारमा फरक व्यवहार गर्ने प्रवृत्ति छ । विभेदको यो अवस्थाले नेपालको पर्यटन क्षेत्र उँभो लाग्दैन ।
पर्यटकहरूले आफू ठगिएको कुरा आफ्नो देश फर्किएर मुलुकवासीलाई पनि सुनाए भने त्यसले नेपालको पर्यटन क्षेत्रमा असर मात्रै होइन, नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा समेत धेरै आँच आउन सक्छ ।
जसको कारण नेपालप्रति विदेशमा नकारात्मक धारणा उत्पन्न हुन सक्दछ । यसबाट घाटा त नेपाललाई नै हुन्छ । ‘अतिथि देवो भव’ को नाममा विदेशी भन्ने बित्तिकै शोषण गर्ने काम अव बन्द गर्दिनपर्दछ ।
नेपालको पर्यटन क्षेत्रको विकासमा भारतको योगदान महत्त्वपूर्ण हुनसक्छ । किनकि भारतको उत्तर प्रदेशमा रहेका ३६ करोड नागरिकलाई नेपाल ल्याउन सके मात्रै पनि नेपालको पर्यटन क्षेत्र फस्टाउनेछ ।
तर, विडम्बना भारतीय पर्यटक नेपाल आउँदा अनेक सास्ती खेप्नुपर्ने अवस्था छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा नेपालीलाई अझै तालिम नै दिनुपर्ने अवस्था छ । मौका पायो भन्दैमा ढाडै सेक्ने गरी च्याप्ने काम बन्द गरिएन भने अन्ततः त्यो नेपालकै लागि हानिकारक हुने निश्चित छ ।
पर्यटक भनेपछि स्वदेशी विदेशी सबैलाई समान व्यवहार गर्नुपर्दछ । विदेशी पर्यटक नआउँदाको असर सबै क्षेत्रमा पर्ने गरेको छ । होटल व्यवसायीले विदेशी नआउँदा घाटा भयो भनेर पटक–पटक सरकारलाई दबाब दिन्छन् ।
तर, विदेशी पर्यटक आउँदा राम्रो आतिथ्यता नभएकै कारण पुनः नेपाल आउने कुरामा विदेशी पर्यटकमा दुविधा हुने गरेको छ । यही अवस्थाकै कारण एक पटक नेपाल आइसकेका पर्यटक दोस्रो पटक नेपाल घुम्न आउन नै चाहँदैनन् ।
किनकि नेपालको आतिथ्यता राम्रो नभएकै कारण उनीहरू आजित भइरहेका हुन्छन् । पर्यटकलाई राम्रो सेवा सत्कार दिने कुरामा सरकारको भूमिका समेत राम्रो छैन ।
पछिल्लो समय नेपालका धेरै पर्यटकीय क्षेत्रमा विदेशी मात्र होइनन्, स्वदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ । यो आकर्षणलाई नेपालको उन्नति र प्रगतिमा लगाउने हो भने राज्यका तिनै तहका सरकारको ध्यानाकर्षण होस् ।