© २०२३
काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत सहमति पत्रमा हस्ताक्षर गरिएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रमबाट डा. भीम रावल नेकपामा औपचारिक रूपमा समाहित हुने भएका छन् ।
१. नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै, बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने ।
२. समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको लक्ष्यप्रति प्रतिबद्ध रहने ।
३. आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने । मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गतका कार्यकर्तालाई पारस्परिक सहमतिका आधारमा नेकपाका विभिन्न तहमा समायोजन गर्ने ।
४. मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयहरू आपसी सहमतिबाट टुंग्याउने ।
५. पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेजहरू दुवै पक्षको सहमतिमा तयार पार्ने ।
६. पार्टी सञ्चालन विधान, विधि, पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिनेछ । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त पालना गरिनेछ ।
७. पार्टी एकीकरणको प्रक्रिया सहज बनाउन आवश्यकतानुसार विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
