© २०२३
बुटवल, २६ कात्तिक ।
जिल्ला भलिबल संघ रूपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता बुटवलमा सुरु भएको छ । विद्यालय स्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सुरु गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहेको संघले जनाएको छ ।
उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले विद्यालय स्तरमै खेलाडीको पहिचान र विकास आजको आवश्यकता भएको बताए । उनले खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सहयोग पुग्ने उल्लेख गर्दै भलिबलसहित अन्य खेलको विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्दै आएको जानकारी दिए ।

जिल्ला भलिबल संघ रूपन्देहीका अध्यक्ष सुरेन्द्र साक्यले विद्यालय स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा ठुलो योगदान पुर्याउने बताए । उनले बजेट अभावबीच पनि विभिन्न संघ–संस्था र शैक्षिक संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।
खेल संयोजक लोकेन्द्र भण्डारीका अनुसार पहिलो दिनको खेलमा दिप बोर्डिङ स्कूल, न्यू होराइजन बोर्डिङ स्कूल, कान्ति मावि र मणिमुकुन्द स्कूल विजयी भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु ५ हजारसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिता बुटवलको देविनगरस्थित होराइजन स्पोर्ट्स क्लबको खेल मैदानमा जारी रहेको जिल्ला भलिबल संघ रूपन्देहीका सदस्य किशन चन्दले जानकारी दिए ।