© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा क्षमतावान व्यक्ति प्रवेश गर्दा आन्तरिक प्रतिस्पर्धा बढ्ने भयका कारण नयाँ व्यक्तिहरूलाई भित्र्याउने पहल हुन नसकेको विश्लेषण गरिएको छ ।
पार्टी गठन भएको ४० महिनामा केन्द्रदेखि तल्लो तहसम्मका समिति र विभागहरूले पूर्णता नपाएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो विश्लेषण गरेका हुन् । उनले चितवनको सौराहामा सम्पन्न विस्तारित बैठकमा पेश गरेको सांगठनिक प्रतिवेदनमार्फत आन्तरिक समस्या र कमजोरीहरूको उल्लेख गरेका छन् ।
महामन्त्री बुर्लाकोटीले पार्टी संगठन निर्माणमा तीव्रता नआउनु र सबै तहका संरचना अपूर्ण रहनुका कारण स्पष्ट पारेका छन् । प्रतिवेदनमा उनले लेखेका छन्,
“नेतृत्वमा राख्नुपर्ने व्यक्तिहरू आवश्यकता अनुसार ल्याउन सकिएको छैन । जसले ल्याउनुपर्ने हो, उनीहरूलाई बाहिरका क्षमतावान व्यक्तिहरू आएपछि प्रतिस्पर्धा बढ्ने र अप्ठ्यारो पर्न सक्ने महसुस भएकाले नयाँ व्यक्तिहरू जोड्ने प्रयास नगरेको देखिन्छ ।”
उनले सदस्यता प्रमाणीकरण ३० प्रतिशतभन्दा कम हुनु, महिला सदस्यको संख्या १४ प्रतिशतमा सीमित रहनु, कर्णाली र मधेशमा संगठन निर्माण सुस्त हुनु, वडा तहको अधिवेशनमा ढिलाइ हुनु, विधान समिति निष्क्रिय रहनु तथा डाटा व्यवस्थापन कमजोर हुनुजस्ता पक्षहरूलाई पनि कमजोरीका रूपमा औंल्याएका छन् ।
बुर्लाकोटीका अनुसार पार्टी गठनको ४० महिनामा रास्वपाको सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको छ । तीमध्ये १ लाख ७३ हजार ५९ जनाको सदस्यता प्रमाणीकरण भएको छ । कूल सदस्यतामध्ये १४ प्रतिशत महिला र १९.३ प्रतिशत आदिवासी–जनजाति समुदायका सदस्य रहेका छन् । डोल्पा, मनाङ र मुस्ताङमा अझै संगठन गठन हुन बाँकी छ ।
कूल ७५३ स्थानीय तहमध्ये २८९ पालिकामा र ७ हजार ६४३ वडामध्ये ४ हजार ४८७ वडामा संगठन निर्माण हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रीय तहका संरचना पनि हालसम्म अपूर्ण छन् । विधानअनुसार १२२ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा हाल ५२ जना मात्रै रहेका छन् । आयोग र विभागहरू पनि अपूर्ण छन् । विधानअनुसार अनुशासन, निर्वाचन र लेखा आयोगमा ११–११ सदस्य रहने व्यवस्था छ तर हाल अनुशासन आयोगमा ६, निर्वाचन आयोगमा ५ र लेखा आयोगमा २ जना मात्र छन् ।
३९ विभागमध्ये कुनै पनि पूर्ण छैनन् । प्रत्येक विभागमा २१ जना रहने व्यवस्था अनुसार ८१९ जना हुनुपर्नेमा हालसम्म २४६ जना अर्थात् ३० प्रतिशत मात्रै पदपूर्ति भएको छ । विभागीय पदपूर्ति नहुनुको कारण व्याख्या गर्दै बुर्लाकोटीले भनेका छन्,
“नआएर पनि समस्या र आएर पनि समस्या देखिन्छ । हामीले आफैं खोजेर ल्याउनुपर्ने व्यक्तिहरूमा पनि डर छ कि भन्ने महसुस भइरहेको छ ।”
जिल्लागत रूपमा संगठन बलियो र कार्यप्रगति देखाउने जिल्लामध्ये चितवन पहिलो स्थानमा रहेको छ । त्यसपछि क्रमशः झापा, काठमाडौं, कञ्चनपुर, कास्की र नवलपुर रहेका छन् । सांगठनिक रूपमा कमजोर क्षेत्रमा कर्णाली र मधेशका जिल्ला रहेको रास्वपाले जनाएको छ ।
संगठन निर्माणमा कमजोरी आउनुको कारण आन्तरिक समन्वय अभाव रहेको बुर्लाकोटीको ठहर छ । उनले संगठन निर्माणलाई तीव्रता दिन सबै तहका संरचनाको सक्रियता बढाउनुपर्ने सुझाव दिएका छन् ।
आर्थिक पक्षमा पनि पार्टी सबल हुन नसकेको उनको निष्कर्ष छ । उनले सदस्यता शुल्क, लेभी र स्वेच्छिक सहयोग मात्रले पर्याप्त आर्थिक स्रोत सुनिश्चित गर्न नसक्ने भन्दै विशेष आर्थिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय कार्यालयमा हाल १७ जना कर्मचारी कार्यरत छन्, जसमा तीन जना इन्टर्न रहेका छन् । पार्टी गठनदेखि अहिलेसम्म कोशी, गण्डकी, बाग्मती र लुम्बिनी प्रदेश मा चारवटा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला र स्थानीय तहमा पनि यस्ता प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको बैठकमा महामन्त्री बुर्लाकोटीले जानकारी गराएका छन् ।