© २०२३
काठमाडौं, २६ कात्तिक ।
ऊर्जामन्त्री कुलमान घिसिङसँग सम्बद्ध भनिएको उज्यालो नेपाल पार्टी का केन्द्रीय कमिटी सदस्यमा नाम समावेश गरिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको ५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा चितवनका प्रधानको नाम २९औं नम्बरमा समावेश गरिएको थियो । मन्त्री घिसिङसँग छलफल भएको स्वीकार गर्दै उनले आफूले केन्द्रीय समितिमा रहने सहमति नदिएको स्पष्ट पारे ।
‘नयाँ दल आए पुराना दलहरूलाई सुधारका लागि दबाब पर्छ भन्ने सोचका आधारमा छलफल भएको थियो । तर, उज्यालो पार्टीमा बस्ने विषयमा मेरो सहमति छैन,’- प्रधानले भने ।
प्रधानका अनुसार पार्टी गठन प्रक्रिया पारदर्शी ढंगले नहुँदा र पछिल्लो समय घिसिङले फोनसमेत नउठाउँदा आफू असन्तुष्ट बनेका हुन् । ‘पार्टी गठनको शुरुवातमै राजनीतिक संस्कार नदेखिए जस्तो लाग्यो,’ उनले टेलिफोनमा बताए ।
उज्यालो नेपाल पार्टी ले मंगलबार निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समिति दर्ता गरेको थियो । तर, सूचीको १० औं नम्बरमा नाम समावेश भएकी टासी ल्हान्जोम ले पनि पार्टीमा बस्न अस्वीकार गरिसकेकी छन् ।