© २०२३
काठमाडौँ, २५ कात्तिक ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता चलिरहेको छ । धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि छलफल भइरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन् ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
‘जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन र पार्टी एकताको विषयमा केन्द्रित रहेर दुई अध्यक्ष छलफलमा जुट्नुभएको हो,’ महामन्त्री बर्तौलाले भने । ‘राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने र बलिया शक्ति निर्माण गर्ने अभिप्रायका साथ यो छलफल भइरहेको हो ।’
राप्रपा नेपालले पछिल्ला केही महिनादेखि पार्टी एकतालाई जोड दिएर छलफल गर्दै आएको छ ।
यसैक्रममा केही दिनअघि सम्पन्न कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य रहेको एकता वार्ता समिति गठन गरेको थियो ।
वार्ता समितिले यसबीच विचार मिल्ने विभिन्न दलका नेतासँग छलफल गरेको छ ।
तर राप्रपा पछिल्लो समय आन्तरिक विवादमा रुमल्लिएको छ। महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट नेताहरू केन्द्रीकृत हुँदै गएका बेला राप्रपामा स्पष्ट दुई धार देखिएको छ।