© २०२३
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिशमा भण्डारीलाई हटाइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिशमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ ।”
भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नगरी यादवलाई महोत्तरीको बर्दिवासस्थित पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।
यसको विरोधमा सात दलले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरेका थिए । विरोधमा उत्रिएका सांसद तथा कार्यकर्ताले तोडफोड पनि गरेका थिए ।
पछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त तथा पदमुक्त गर्ने संवैधानिक अधिकार राख्छन् ।
