Butwal Today

घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी

२५ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

ऊर्जामन्त्री कुलमान घिसिङले सुमना श्रेष्ठ र जेनजी प्रतिनिधि भनेर चिनिएका हामी नेपाल अभियानका संयोजक सुदन गुरुङसँग मंगलबार बिहान आफ्नै निवासमा छलफल गरेका छन् ।

घिसिङको नेतृत्वमा नयाँ दल गठनको लागि सुमना श्रेष्ठ लामो समयदेखि सक्रिय थिइन् । तर, मन्त्री पदमा रहेकाले घिसिङले तत्काल आफ्नो नेतृत्वमा दल दर्ता नगरी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको नजिक मात्र दलमा सहभागी हुने बताएका थिए ।

यसै अनुसार, उनी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर दल दर्ता गर्ने तयारीमा थिए । तर, यदि घिसिङ स्वयं नेतृत्वमा नभए, सुमना श्रेष्ठले सामूहिक नेतृत्वमा दल दर्ता गर्न सुझाव दिएकी थिइन् ।

सहमति नहुँदा, सुमना श्रेष्ठले शुभकामना दिँदै दल दर्ताबाट बाहिरिने निर्णय गरिन् । त्यसपछि घिसिङले उनीहरूसँग छलफल गरेका हुन् ।

छलफल अनुसार, यदि घिसिङ स्वयं आयोग गएर दल दर्ता गराउने अवस्था बनेमा, सुमना श्रेष्ठ, सुदन गुरुङ लगायत सबै सहभागी हुने बताए । यसअघि दिनभरि पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय संयोजकत्वमा “उज्यालो नेपाल” नामक दल दर्ता गर्ने तयारी भइरहेको थियो ।

सुदन गुरुङले नयाँ दलमा राख्ने ६ जना प्रतिनिधिको नाम दिइसकेका छन् । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० सम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ ।