© २०२३
बुटवल, २४ कात्तिक ।
तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ सहआयोजक रहने उक्त महोत्सव मङ्सिर २९ गतेसम्म चल्ने भए पनि आयोजकले आवश्यकताअनुसार थप दुई दिनसम्म विस्तार गरिने जानकारी दिएको छ।
महोत्सवमा करिब ३५० स्टल रहनेछन् भने हालसम्म १५० स्टल बुक भइसकेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष प्रेम घर्ति मगर (प्रेम जिएम) ले तिलोत्तमामा आयोजना हुने यस महोत्सवले स्थानीय व्यापार, उद्योग, व्यवसाय, पर्यटन, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँका अनुसार यस वर्षको मेलामा विगतका वर्षभन्दा केही फरक र नवीन कार्यक्रम प्रस्तुत गरिनेछ।
जिएमले हाल उद्योगी व्यवसायीहरू बैंक ब्याजदर र अन्य आर्थिक चुनौतीका कारण कठिनाइमा रहेको परिस्थितिमा यो मेलाले सबैलाई उत्साह र आशा जगाउने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका सचिव हेमलाल न्यौपाने का अनुसार मेलाले स्थानीय तथा राष्ट्रिय उत्पादनको प्रचार–प्रसारसँगै तिलोत्तमा क्षेत्रका पर्यटकीय स्थलहरूको पनि पहिचान गराउने लक्ष्य लिएको छ।
महोत्सवमा उद्घोषक तालिम, युवा पुस्ताका लागि विशेष कार्यक्रम, ३६० झुला, पिङ, चर्के पिङ, ब्रेक डान्स, डुंगा, बाल उद्यान लगायतका मनोरञ्जनात्मक खेल तथा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिने छन्।
विद्यार्थीहरूलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट दिइने र करिब दुई लाख दर्शक सहभागी हुने आयोजकको दाबी छ।