© २०२३
काठमाडौं, २४ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८–१९ पुस तोकिएको छ ।
रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो । सहमहामन्त्री आचार्यले उम्मेदवार हुन इच्छुकका लागि कानुनी प्रावधानसहित पार्टीले मापदण्ड तय गरेको जानकारी गराए ।
आचार्यका अनुसार, समानुपातिक उम्मेदवार बन्नको लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको छ । यस सूचीमा परेको व्यक्ति पछि दलले प्राप्त गरेको मतको आधारमा छनोट हुन नसकेमा बुझाएको रकम फिर्ता नहुने रास्वपाले जनाएको छ ।
रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि आवेदक शुल्क २५ हजार रुपैयाँ तोकेको थियो, तर जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भएपछि उपनिर्वाचन हुन सकेन ।
अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिक तर्फ उम्मेदवार बनेकालाई यसपटक उम्मेदवार हुन नदिने निर्णय गरिएको छ ।
आचार्यले भने, “प्रत्यक्ष अथवा समानुपातिक हकमा आवश्यक योग्यताहरूको सूची बनाएका छौं । थप योग्यतालाई स्वघोषणा गर्न भनेका छौं । सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गर्नुपर्छ ।
अनलाइन होस् वा अफलाइन, द्वेष फैलाउने उम्मेदवार हुन नपाउने मापदण्ड बनाएका छौं । वैध आयस्रोतको पुष्टि पनि अनिवार्य छ ।” उम्मेदवार आवेदन अनलाइन वा भौतिक रूपमा फर्म भरेर पेश गर्न सक्ने रास्वपाले जनाएको छ ।
उम्मेदवार छनोटमा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतको विधि प्रयोग गरिने बताइएको छ । आचार्यका अनुसार, “एक प्रारम्भिक निर्वाचनबाट आउने भोटको मूल्यांकन गरी उम्मेदवार मूल्यांकन समिति बनाउनेछौं ।
समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेछ र पार्टीले बनाएका सबै विधिबाट अंक जोडेर अन्तिम सूची निकालिनेछ ।” आवेदन पेश गर्ने अन्तिम मिति पार्टीको बैठकले निर्णय गर्ने आचार्यले जानकारी दिएका छन् ।