© २०२३
कतार, २४ कात्तिक ।
रोजगारीका सिलसिलामा कतारमा रहेका स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका–७ का ३७ वर्षीय लिलबहादुर गुरुङको सडक दुर्घटनामा निधन भएको छ।
गत अक्टोबर २९ तारिख राति करिब ८ बजे, ड्युटी सकेर कोठातर्फ फर्कँदै गर्दा भिलाजियो रोडमा सवारी साधनमा समस्या देखिएपछि उनले सवारी साइडमा पार्क गरेर सडक किनारमा उभिएको समयमा, सोही दिशाबाट आएको अर्को गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको तमु (गुरुङ) समाज कतारका महासचिव धन गुरुङले जानकारी दिएका छन्।
तकको शव नेपाल पठाउनका लागी एनआरएन एनसिसी कतारका द्वितीय उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक सन्तोष पौडेल,सचिब अर्जुन सङ्ग्रौला र महिला उपाध्यक्ष टौमाया गुरुङले विशेष पहल गरेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतार, नेपाली दूतावास, र तमु समाज कतारको सहकार्यमा आइतबार मृतकका आफन्त जन धर्मबहादुर गुरुङले शव लिएर नेपाल फर्किएका छन्।
श्रमिक संयोजक पौडेलले वैदेशिक रोजगारमा रहेका सबै नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति, बीमा तथा अन्य आवश्यक कागजातहरू समयमै नवीकरण गर्न र सावधानी अपनाउन आग्रह गरेका छन्। उनका अनुसार यस्ता घटनाबाट सिकेर आगामी दिनमा सुरक्षाप्रति सजग रहनु जरुरी छ।
दश वर्षअघि रोजगारीका लागि कतार पुगेका गुरुङ तमु (गुरुङ) समाजमा सन् २०१६ देखि सक्रिय सदस्य थिए र सांस्कृतिक सह–संयोजकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी कतारको एक कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए।
मृतक गुरुङका एक श्रीमती र दुई छोरी छन्। उनको शव नेपाल फर्काइएपछि आज पोखराको शक्तिघाटमा अन्तिम संस्कार गरिएको तमु समाज कतारका अध्यक्ष चन्द्र गुरुङले जनाएका छन्।