© २०२३
चितवन, २४ कात्तिक ।
सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरूले भरतपुर अस्पतालमा नाराबाजी गरेका छन् ।
पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर नाराबाजी गरेका थिए । संगीताको मृत्युपछि आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीको कारबाहीको माग गरेका छन् ।
आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो ।
२२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएपछि रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राति ११:४० मा मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको दाबी गरेका छन् ।
बच्चाको धड्कन नभएको पुष्टि भए पनि तत्काल शल्यक्रिया नगर्दा आमाको ज्यान गएको मृतकका आफन्तको भनाइ छ । अस्पतालले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताएको छ ।
सुत्केरी हुन व्यथा लाग्ने औषधि चलाइएलगत्तै संगीतालाई ‘कार्डियाक अरेस्ट’ भएको र सीपीआर दिँदै आईसीयूमा लगेर बचाउने प्रयास गरिएको भए पनि सम्भव नभएको डा. सापकोटाको भनाइ छ ।