© २०२३
बुटवल, २४ कार्तिक ।
रोटरीको अन्तर्राष्ट्रिय सञ्जाललाई सामाजिक हितको काममा उपयोग गर्ने उपयुक्त माध्यम भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले दाबी गरेका छन् ।
रोटरी क्लब अफ बुटवल डाउन टाउनको डिष्ट्रिक गभर्नर अफिसर भिजिट तथा तेस्रो क्लब एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर बिनोद कोईरालाले विश्वभर फैलिएको संजालबाट सहकार्य गर्दै काम गर्न सकिने दाबी गरे ।
विश्वबाट नै पोलियो उन्मुलनमा रोटरीको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले समुदाय लक्षित धेरै कामहरूमा रोटरी सदस्यहरू लागेको बताए । क्लबबाट धेरै र उत्कृष्ट प्रोजेक्ट गरिरहँदा पनि त्यो कामको आरआईसंग जोड्न नसकेको उनले बताए ।
क्लबमा गोलको आधारमा यसवर्षदेखी आरआईबाट ‘एक्सलेन्स अवार्ड’ वितरण गरिने उनले बताए । व्यक्तिगत अनुभवलाई सामाजिक सञ्जालमा जानकारी दिन सके धेरै भन्दा धेरै जानकारी दिन सकिने उनले बताए ।
लुम्बिनीमा निमार्णधिन रोटरी गार्डेनलाई अघि बढाउनेतर्फ यहाँको क्लबको पहल जरुरी रहेको उनले बताए । पर्यटक भित्रने र प्रचार हुने रूपमा रहेको गार्डेनलाई सौन्दर्यीकरणमा जोड दिनुपर्ने उनले बताए । डिष्ट्रिकबाट वार्षिक बजेट विनियोजन भए पनि काम हुन नसकेको उनले दुखेसो गरे ।
कार्यक्रममा डिष्ट्रिक सचिव सुभाष सिगदेल, क्लबका एजी शिव गौडेल, क्लबका पूर्व अध्यक्ष पिताम्बर ज्ञवाली, सचिव केशव बस्यालले प्रत्येक क्लबहरु डिष्ट्रिक र आरआईमा जोड्ने विषयमा प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय क्लबहरुको सम्बन्ध बढाएर एउटा प्लेटफर्मका रूपमा जोड्न सके त्यसबाट सहयोग जुट्ने दाबी समेत गरे । क्लबका अध्यक्ष बाबुराम बन्जाडेले यस क्षेत्रमा नै उदाहरणीय काम गर्दै आएको क्लबबाट कुशीनगरको रोटरीसंग सिस्टर क्लबमा जोड्ने तथा रोल्पाको एक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरूलाई पोसाक र ब्याग वितरण गर्ने कार्यक्रम रहेको बताए ।
शतप्रतिशत पिएचएफ र रोटरी फण्डमा क्लबको योगदानलाई थप वृद्धि गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सर्भिस योगेन्द्र पन्थि, मेम्बरसिप कमल ज्ञवाली, एडमिनिष्ट्रेसन कमल नेपाल, पब्लिक ईमेज प्रेमा केसी, टिआरएफ चेयर शङ्कर ज्ञवालीले आआफ्नो क्षेत्रको प्रगति विवरण पेस गरेका थिए ।
यसैबिच सांस्कृतिक पर्व जर्गेना गर्ने उद्देश्यका साथ आयोजना गरिएको देउसी भैलो कार्यक्रमबारे संयोजक धर्मदत्त ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत मनोरञ्जन र आर्थिक सङ्कलन भएको बताए । तिहार लक्षित सांस्कृतिक कार्यक्रममा क्लबका सदस्यहरूबाट नै कला प्रस्तुत गरिएको उनले बताए ।