© २०२३
काठमाडौँ ।
कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने तयारी गरेको छ ।
काठमाडौँमा सम्पन्न एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो । निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामा रहेकाले केही दिनमै कार्यदल बनाएर समायोजन प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
शनिबार पेरिसडाँडामा बसेको पार्टी एकता कार्यदलसहित शीर्ष नेताहरूको बैठकले उच्च तहकै नेतृत्वमा कार्यदल बनाउने समझदारी गरेको गजुरेलले बताए । उनका अनुसार, नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्न सक्ने सम्भावना रहेको छ ।
गजुरेलका शब्दमा “केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ । एउटा उच्चस्तरीय समायोजन कार्यदल बनाउने तयारी भइरहेको छ । सबै पार्टीबाट समेटेर १०–१५ जनाको कार्यदल बनाउने विचार छ, तर निष्कर्षमा पुगेको छैन ।”
दैनिक कार्य सम्पादनका लागि करिब ३५ सदस्यीय सचिवालय बनाउने तयारी भइरहेको उनले बताए । उक्त सचिवालयमा पूर्व नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का पदाधिकारीहरू रहनेछन् । एकता प्रक्रियामा आएका अन्य दलका पदाधिकारीको भूमिकाबारे भने छलफल जारी रहेको उनले स्पष्ट पारे ।
एकता अघि नै प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म एक दलको संयोजक भएमा अर्को दलले सह–संयोजक रहने समझदारी भएको नेताहरूले जनाएका छन् । एकतापछि केन्द्रीय समिति कति सदस्यको हुने भन्नेमा भने अहिलेसम्म कुनै निष्कर्षमा पुग्न बाँकी रहेको गजुरेलले जानकारी दिए ।
स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन हुने सम्भावना अझै बलियो छ । यता वार्ता टोली सदस्य प्रकाश ज्वालाले भने, दल दर्ता प्रक्रिया सकिन बाँकी भएकाले समायोजनको औपचारिक प्रक्रिया सुरु नभएको बताए ।
“हिजोसम्म निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै अल्झिएकाले व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म समायोजन र व्यवस्थापन कसरी गर्ने भन्नेमा भोलिसम्म केही टुंगो लाग्न सक्छ,” उनले भने ।
उनका अनुसार, नयाँ पार्टीको केन्द्रीय समिति करिब दुई हजार सदस्यीय हुने सम्भावना छ । त्यसअनुसारको पोलिटब्युरो र स्थायी समिति गठनबारे पनि छलफल भइरहेको उनले जानकारी दिए ।
केन्द्रमा करिब ३५ सदस्यीय कोर टिम र एक सय हाराहारीको स्थायी समिति बन्न सक्ने सम्भावना रहेको ज्वालाले बताए ।
त्यस्तै, एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल पनि कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा सहभागी हुने तयारीमा रहेको स्रोतले जनाएको छ । मातृभूमि जागरण अभियानका संयोजक समेत रहेका रावल आफ्ना सहयोगीहरूसँग अन्तिम छलफलमा रहेको बताइएको छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ पार्टीमा सहभागी हुन सकारात्मक रहेको नेता ज्वालाले बताए ।
“जसपा पनि एकता प्रक्रियामा आउन सकारात्मक देखिएको छ ।
उनीहरूले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने बताएका छन् । सायद केही दिनमै निर्णय आउला,” उनले भने ।