© २०२३
चन्द्रौटा, २४ कार्तिक ।
साथीहरू जहाँ केक र बेलुनले जन्मदिन मनाइरहेका हुन्छन् ।
त्यही बेला कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाकी बाल लोक दोहोरी गायिका एक्टिमा परियारले भने आफ्नो जन्मदिन केही फरक ढङ्गले मनाएकी छन् । उनले कक्षा २ अध्ययनरत ७० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएकी हुन् ।
राष्ट्रिय माध्यमिक विद्यालयको आइतबार बिहानी प्रार्थना कार्यक्रममा उनी अनपेक्षित रूपमा उपस्थित भइन् । स–साना बालबालिकाको मुस्कान देख्दा उनको अनुहारमा पनि खुसी झल्किएको थियो । “जन्मदिनको खर्च पढाइमा लगानी गर्न पाए राम्रो लाग्छ”- एक्टिमाले भनिन् ।
अहिले उनी आवर मदरल्याण्ड एकेडेमी, चन्द्रौटा, कक्षा ६ मा अध्ययनरत छिन् । सानै उमेरमा सामाजिक चेतना र उदार सोँच देखाएकी एक्टिमाको यो कदमले विद्यालयका शिक्षक र विद्यार्थी दुवैलाई प्रेरित गरेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले सानो उमेरमै यस्तो सोच राख्नु वास्तवमै प्रेरणादायी रहेको बताए । एक्टिमा जस्ता बालप्रतिभाले समाजमा सकारात्मक सन्देश फैलाउने विद्यालयका शिक्षक तथा सूचना अधिकारी सिताराम चौधरीले बताए ।