© २०२३
काठमाडौँ, २४ कात्तिक ।
मधेसमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरूले मधेस भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखिएपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।
एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको ठुलो दल एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
अस्वस्थ भएकी भण्डारी उपचारका लागि काठमाडौँ जाने भन्दै बिहान झिसमिसेमै निवासबाट निस्किएकी थिइन् । तर महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा पुगेर उनले यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि असन्तुष्ट दलहरूले तीव्र विरोध प्रदर्शन गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेस भवन आउने जानकारी पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
मुख्यमन्त्री नियुक्तिबारे पार्टीभित्र छलफल नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।