© २०२३
काठमाडौं, २४ कात्तिक ।
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीमाथि कुटपिट गरेका छन् । प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा रहेका कर्मचारीमाथि आक्रमण भएको हो ।
एक भिडियोमा देखिन्छ कि तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजिरहेका थिए । त्यही बेला भिडले उनलाई घेरेर टाउकोमा मुक्का हानेको देखिन्छ ।
त्यसपछि कर्मचारीको हातबाट फाइल भुइँमा खस्छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट बचाएर कोठा बाहिर निकाल्छन् ।
मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन पनि गरेका छन् ।
आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका थिए । तोडफोड गर्ने क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेको पनि देखिएको छ ।
नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरुले एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोध जनाएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान ४ बजे बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिँदै स्वास्थ्यलाभको कामना गरेका थिए ।
तर महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानी स्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तनावपूर्ण बनेको छ ।
निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्ने अवसर यही भएको उल्लेख गर्दै, मधेश प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।