© २०२३
काठमान्डौ, २३ कार्तिक ।
चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले पार्टी रूपान्तरणका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन् ।
उनले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको महाधिवेशन, वैचारिक पुनर्संरचना, नेतृत्वको पुनर्गठन र सङ्गठन विस्तारका विषय समेटिएका छन् । कार्कीले महाधिवेशनलाई पार्टीको “अक्सिजन” का रूपमा परिभाषित गर्दै आगामी २०८२ मङ्सिरभित्र सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेकी छन् । उनका अनुसार, महाधिवेशनले पार्टीमा वैचारिक स्पष्टता, सङ्गठनात्मक बल र आगामी निर्वाचनका तयारीमा नयाँ ऊर्जा थप्नेछ ।
मार्गचित्रको अर्को बुँदामा उनले वर्तमान कार्यकारी नेतृत्व — पदाधिकारी र सचिवालय — भङ्ग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएकी छन् । सो समितिमा जेनजी अभियान, वैकल्पिक शक्ति र बौद्धिक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको धारणा छ ।
उनले भनिन्, “महाधिवेशन आयोजक समिति घोषणापछि पनि पदाधिकारी र सचिवालय रहिरहनु तथा त्यसको विस्तार गरिनुको आधार स्पष्ट छैन । महाधिवेशनको सकारात्मक वातावरण बनाउन कार्यकारी संरचनाको पुनर्गठन अपरिहार्य छ ।”
डा. कार्कीले अहिलेको राजनीतिक परिवेशले नयाँ प्रकारको मध्यमार्गी, जिम्मेवार र वैचारिक रूपमा स्पष्ट राजनीतिक शक्तिको आवश्यकता महसुस गराइरहेको उल्लेख गर्दै, रास्वपाले त्यस दिशामा रूपान्तरणको पहल गर्नुपर्ने बताएकी छन् । उनका शब्दमा, “नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रम सबैको पुनरावलोकन, पुनर्मुल्याङ्कन र पुनर्संरचना गरेर आजको समयले खोजेको शक्ति निर्माण गर्ने यही सही समय हो ।”
बैठकमा कार्कीसहित पाँच जना सदस्यहरूले सुझावसहितका प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय सङ्गठन विभागका सचिव शंकर श्रेष्ठले २० पृष्ठ लामो प्रतिवेदन दर्ता गराएका थिए, जबकि डा. बुद्धि शर्मा र मधु अर्यालले तीन–तीन पृष्ठको प्रस्ताव प्रस्तुत गरे । अर्का सदस्य प्रमोद न्यौपानेले “सङ्गठनात्मक सुझाव” शीर्षकमा दस्ताबेज पेस गरेका भए पनि उनी विस्तारित बैठकमा अनुपस्थित भएकाले उनको प्रस्ताव केन्द्रीय समितिमा मात्रै विचार हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।