© २०२३
काठमान्डौ, २३ कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री शर्माले लेखेका छन्, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो ।”
उनका अनुसार, विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न सकिने उपाय विशेष महाधिवेशन आयोजना गर्नु हो वा सोही समयावधिभित्र नियमित महाधिवेशन सम्पन्न गर्नु मात्र हो । उनले यसबारे स्पष्ट बुझाइ आवश्यक रहेको जोड दिएका छन् ।
महामन्त्री शर्माले बताएअनुसार, नियमित महाधिवेशन पुस, माघ वा वैशाखमा, अथवा सोभन्दा पहिले वा पछि पनि सम्पन्न गर्न कांग्रेसको विधानले कुनै बाधा नराख्ने उल्लेख छ । तर, विशेष महाधिवेशन भने विधानको दफा १७ (२) अनुसार ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।