© २०२३
काठमान्डौ, २३ कार्तिक ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ । वातावरण विभागका अनुसार आगामी दिनहरूमा प्रदूषणको स्तर अझै उच्च हुने अनुमान गरिएको छ ।
विभागको वेबसाइटमा शुक्रबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार देशभर सबैभन्दा बढी प्रदूषण सुर्खेतमा मापन गरिएको छ, जहाँ वायु प्रदूषणको मात्रा १७० पीपीएम पुगेको छ ।
सुर्खेतपछि सबैभन्दा प्रदूषित सहरको रूपमा भक्तपुर रहेको छ, जहाँ १३२ पीपीएम रेकर्ड गरिएको विभागले जनाएको छ । त्यसपछि दाङको देउखुरीमा १२४, काठमाडौंको शंखपार्कमा १२३ र ललितपुरको खुमलटारमा १०५ पीपीएम प्रदूषण मापन गरिएको छ ।
हिजो शंखपार्कमा वायु प्रदूषणको मात्रा ७३ पीपीएम मात्र रहेकामा आज बिहानसम्म त्यो ह्वात्तै बढेर १२३ पुगेको छ, जसले वायु गुणस्तरमा तीव्र गिरावट आएको संकेत गर्छ ।
वातावरण विभागका अनुसार तत्काल वर्षा हुने सम्भावना नरहेकाले प्रदूषणको मात्रा अझ बढ्ने अनुमान गरिएको छ । छिमेकी मुलुक भारतमा हाल वायु प्रदूषण अत्यधिक स्तरमा पुगेको र त्यहाँको प्रदूषित हावा हावासँगै नेपालसम्म फैलिन सक्ने विशेषज्ञहरूले बताएका छन् ।
सुक्खा मौसम, हावा नचल्ने अवस्था, कृषिजन्य अवशेष जलाउने प्रथा र वातावरणमैत्री नभएका निर्माण गतिविधि वायु प्रदूषणका प्रमुख कारण मानिन्छन् ।