© २०२३
सल्यान, २४ कार्तिक ।
सल्यानको दार्मा गाउँपालिकामा सरुवा रोग स्क्रब टाइफसको सङ्क्रमण गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो चार दिनमा मात्रै घरघरमा गएर बिरामीको स्वास्थ्य परीक्षण गर्दा थप ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।
दार्मामा उच्च ज्वरो र स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण भएका चार जना महिलाको उपचारका क्रममा मृत्यु भएपछि दुई वटा वडामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ५१ जनामा स्क्रब टाइफस सङ्क्रमण पाइएको थियो ।
त्यसपश्चात् दार्मा गाउँपालिका, सल्यान जिल्ला अस्पताल र कर्णाली प्रदेश सरकारको प्राविधिक तथा स्वास्थ्यकर्मीहरूको टोलीले घरघरमा गएर ३६० जना बिरामीको जाँच गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।
गत बुधबारदेखि शनिबारसम्म विभिन्न वडाका गाउँवस्तीमा पुगेर २२१ जना महिला र १३९ जना पुरुष बिरामीहरूको स्वास्थ्य जाँच गर्दा ५१ जना महिला र २२ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको उनले बताए ।
बुधबार वडा नं. ३ को बेरुखेत र भोपाल्ना, बिहीबार वडा नं. ३ को लेखागाउँ, झुलेली, माझागाउँ, बुढाकाफल, धुल्खर्क र चम्फुटाकुरा, वडा नं.४ को मालिका, तमारा, मौलोहाले, कमलपोखरी र रतिखोला, वडा नं. २ को लिगाछाप, पातिखोला र वजावाङ्ग, वडा नं. १ को झुलेली, ढाँकीवारा र भदालेखोलामा घरदैलो गरिएको थियो ।
यस्तै शुक्रबार वडा नं. १ को स्यालागाउँ, विष्ट गाउँ र काफलैरा, वडा नं. ५ को लैयाटा र ढाकाडामकोट, वडा नं.४ को सिंगारीकोट, लामाडाँडा, पुखात, डाँगीगाउँ, दलित टोल, रामिडाँडा र बाखोरमा तथा शनिबार वडा नं. ५ को कागुनोहाल्ने, भालुखोला र जलेखर्क, वडा नं. ६ को अरबारे, गोठिवन भूर्तिवाङ्ग, वडा नं. २ को लिरापाजा र डल्सिङमा घरदैलो गरिएको गाउँपालिकाले जनाएको छ ।“यो गम्भीर समस्या हो ।
ज्वरो आउनासाथ नजिकको स्वास्थ्य चौकी वा जिल्ला अस्पतालमा जान विशेष अनुरोध छ । जथाभाबी सुई र औषधी प्रयोग नगर्न निजी क्लिनिकहरूलाई ध्यानाकर्षण गराउँछौँ”, गाउँपालिका अध्यक्ष केसीले भने । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला अस्पताल र दार्माका सबै स्वास्थ्य संस्था तथा शाखाहरूले अभियानमा सक्रिय भूमिका निर्वाह गरेको उनको भनाई छ ।
स्क्रब टाइफस माइट (सानो किर्ना) को टोकाइबाट सर्ने रोग भएको र ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने, चिलाउने जस्ता लक्षण देखिने भन्दै स्वास्थ्यकर्मीहरूले समयमै उपचार नगरे ज्यान जोखिममा पर्न सक्ने बताएका छन् ।
स्क्रब टाइफसबाट बच्नका लागि खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुईँ सम्म बुट लगाउन स्वास्थ्य सेवा कार्यालय सल्यानले अनुरोध गरेको छ ।
यसका साथै घाँस वारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, सकेसम्म घाँस वारी र चउरमा नबस्ने तथा चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने र मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्न कार्यालयको आग्रह छ ।