© २०२३
काठमान्डौ, २३ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवार आवेदन आह्वान गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रुपरेखाअनुसार उम्मेदवारीको प्रक्रिया अघि बढाइएको हो ।
उम्मेदवार बन्न इच्छुक व्यक्तिले केही मापदण्ड र शर्तहरू पूरा गरेको स्वघोषणा गर्नुपर्नेछ । यसमा सार्वजनिक पदको दुरुपयोग नगरेको, वैध वैवाहिक अवस्था भएको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण नगरेको, आम्दानी पारदर्शी रहेको लगायतका विषयहरू समावेश छन् ।
पारदर्शी, विधिसम्मत र निष्पक्ष उम्मेदवार छनोट प्रक्रिया सुनिश्चित गर्न रास्वपाले अडिट समिति गठन गर्ने जानकारी दिएको छ ।
समानुपातिक बन्दसूचीको खाका तयार गर्दा पार्टीले यसलाई थप वैज्ञानिक, वस्तुपरक र समावेशी बनाएको छ । संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टरसँगै प्रादेशिक जनसांख्यिक अनुपात र २०७९ सालको आम निर्वाचनमा पार्टीले प्राप्त समानुपातिक मतको प्रादेशिक अनुपातको आधारमा ११० जनाको बन्दसूची तयार गरिएको छ । यस व्यवस्थाले प्रदेशस्तरीय समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै, प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको रास्वपाले जनाएको छ ।
त्यसैगरी, जेन–जीको स्पिरिटको प्रतिनिधित्व समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षभित्रका युवाहरूको जनसंख्याअनुपात अनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । साथै, प्रवासमा रहेका उम्मेदवार बन्न इच्छुक नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपा काप्रवक्ता झाले बताए ।
