© २०२३
काठमाडौं, २३ कात्तिक ।
मनाङमा ३ कात्तिकदेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ ।
बेपत्ता हुनेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल रहेका छन् । उनीहरूको शव सशस्त्र प्रहरी बलले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो ।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसिरहेका बाबु–छोरी ३ कात्तिकमा सोही गाउँपालिका–५ अन्तर्गतको मलेरिपा गुम्बा घुम्न हिँडेका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
उनीहरू सम्पर्कविहीन भएपछि होटल व्यवस्थापनले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई खोजीका लागि जानकारी गराएको थियो ।
प्रारम्भिक खोजीमा उनीहरू नभेटिएपछि सशस्त्र प्रहरी नायव उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार टोली २३ कात्तिकमा पुनः घटनास्थलतर्फ खटिएको थियो ।
माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरूको शव मलेरिपा गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।