© 2026
सि एन एन, वि वि सि, फ्रान्स २४ ! मैले तिमीहरू सबैलाई हेरिरहेको छु । म तिमीहरूको हरेक झुटलाई यो रेकर्ड गरिरहेको छु ।
म तिमीहरूले तोडमोड गरेर भनेका हरेक कुरालाई संकलन गरिरहेको छु । म इब्राहिम त्राउरे हुँ, र आज तिमीहरूको नकाब उतार्दै छु !” “आज म तिमीहरूलाई सत्य बताइरहेछु । यसपटक तिमीहरूले माइक बन्द गर्न सक्दैनौ । यसपटक तिमीहरूले क्यामरा हटाउन सक्दैनौ ।
यसपटक तिमीहरूका सम्पादकहरूले यो भाषण काट्न सक्दैनन् किनभने त्यो संसार अब रहेन जसमा तिमीहरूको एकाधिकार थियो !” “अब करोडौं मानिसहरूले यो कुरा सुन्नेछन् ।
तिमीहरूको फिल्टरबाट गुज्रिएर होइन तिमीहरूको झुटमा बेरिएर र फोहरमा लतपतिएर होइन । म सानो वालक हुंदैदेखि तिमीहरूले समाचारमा, टिभी स्क्रिनमा अफ्रिकालाई अभाव, गरिबी, रोगी, फोहरीको रूपमा प्रस्तुत गरेउ, अब त्यो देख्ने छैनौ !”
यो कुरा अनकन्टार, अन्धकार, गरिबी, भोकमरी, नाङ्गो, भुतुङ्गो, कालाजाति, घनाजंगल नै कहालीलाग्दो नदीहरू र डरलाग्दा जनावरहरूका महादेश भनिएको अफ्रिकाको पश्चिमी देश बुर्किना फासोको वर्तमान कडा युवा क्रान्तिकारी, समाजवादी, राष्ट्रपति, सैनिक, जनरल, इब्राहिम त्राउरेको हो ।
अन्धकारको महादेश अफ्रिकाभरिको चम्किलो तारा बनेर चम्कदै एक गरिबी र अभावै अभावको देश बुर्किना फासोवाट उदाएका इब्राहिम त्राउरेको होे । उनको यो भाषणले विश्वकै मथिंगल हल्लाइ दिएको छ ।
पश्चिमी साम्राज्यवादी, उपनिवेशवादी र मै हुँ शक्तिशाली भन्ने शासकहरूको निन्द्रा हराम गर्दिएको छ, तिनमा खैलाबैला ल्याइदिएको छ र तिनका सपना चकनाचुर पार्दै सातो काढी दिएको छ । इब्राहिम त्राउरेको यो भाषण केवल राजनीतिक बक्तब्य मात्र नभएर सारा अफ्रिकाकै साझा आक्रोस, पीडा, मर्म र आशाको शक्तिशाली प्रतिध्वनि थियो । यो भाषणले संसारलाई ध्यानाकर्षण गराएको छ र विश्वभरी चर्चामा छ ।
बुर्किना फासोबाट उनको हिरोइज्म् शुरु भएको छ र विश्वमै शासकीय हिरोको रूपमा उदाएका छन् । विश्वकै कान्छा राष्ट्रपति युवा जोस, जाँगर, हिम्मत, अदम्य साहस र क्षमताले भरिएका सैनिक शासक हुन् उनी । बुर्किना फासो मात्र नभएर अफ्रिकाकै पुनर्जागरण, प्रेरणा, मुक्ति र आशाको स्रोत बनेका त्राउरेको जन्म दक्षिण–पश्चिम (बुर्किना फासोको) बवो राज्यको सामान्य गाउँमा सामान्य परिवारमा भएको थियो ।
सन् १९८८ मा जन्मेका उनी अभावै अभावको गाउँमा हुर्किएका थिए । तसर्थ उनलाई गरिबका दुःख, पीडा, मर्म र वेदना प्रति गहिरो महसुस थियो । पढाइमा तिक्ष्ण बुद्धि भएका इब्राहिम गाउँकै विद्यालयको पढाइ सकेर राजधानी अउगाडौगोउको विश्वविद्यालयमा भू–विज्ञान शास्त्र स्नातक अध्ययन सकेर सेनामा भर्ती भए ।
तर, बिद्यार्थी जीवनमा पनि उनले कम्युनिष्ट तथा समाजवादी विचारधाराका बिद्यार्थी संगठनमा नेतृत्व गरेका उनले सेनामात्र नभएर देशको समस्या हल गर्न राजनीतिमा लाग्नुपर्ने निर्णय गरेका थिए ।
बुर्किना र राजनीतिक शासन पृष्ठभूमिः
नेपाल जस्तै भूपरिवेष्ठित देश ‘बुर्किनाफासो’ स्थानीय जनजातिको भाषाबाट राखिएको नाम हो । जसको अर्र्थ ईमान्दार मान्छे बस्ने देश हुन्छ । यसवाट प्रष्ट हुन्छ कि यो देशका मान्छेहरू क्ति हदसम्म इमान्दार छन् र साथै आ–आफ्नो काममा परिश्रमी पनि ।
आर्थिक आम्दानीको ८०% सुन खानीवाटै आम्दानी हुने यो देश अशिक्षित, अभाव र गरिबीको आडमा सन् १८९६ देखि १९६० सम्म फ्रान्सले उपनिवेशको बन्धक बनायो । सन् १९६० मा नाम मात्रको स्वतन्त्र भएको यो देशमा ‘मोउरिस यामेओगो’ पहिलो राष्ट्रपति फ्रान्सकै कठपुतलीको रूपमा बनाइयो ।
कठपुतली शासक ‘यामेओगो’ को शासनकाल फ्रान्सकै आदेशमा चल्ने तर ‘बुर्किना फासो’ लाई गरिबी, अभाव, भ्रष्टाचार, अशिक्षा आदिको दर्दनाक अवस्थामा लग्यो । त्यो चरम परिस्थितिलाई सम्हाल्दै सन् १९८३ मा ‘थोमस संकरा’ सत्तामा आए । उनले फ्रान्सको हस्तक्षेपलाई च्यालेन्ज गर्दै स्वतन्त्र, स्वाभिमान र राष्ट्रवादी ढंगले ‘बुर्किना फासो’ लाई, सुधारतिर लगेका थिए ।
यहि कारण उनलाई षडयन्त्रपूर्वक ढंगले सन् १८८७ मा हत्या गरियो । उनको हत्या पछि ‘ब्लेसे कोम्पाओरे’ ले सैनिक कू गरी सत्ता चलाए । दुर्भाग्यवस कोम्पाओरेपनि फ्रान्सकै कठपुतली छाँया शासकको रूपमा शासन गरे । उनले मुलुकलाई बर्वाद मात्र गरे । सन् २०१४ पछि अर्का शासक रोचमार्क काबोरले सत्ता लिएपनि मुलुकको कुनै प्रगति, उन्नति र सुधार हुन सकेन ।
सन् २०२२ जनवरीमा फ्रेन्च कठपुतली शासक विरुद्ध सैनिक ‘कू’ भयो र जनरल पउल हेनरी डामिवा राष्ट्रपतिको रूपमा सत्ता चल्यो । उनको शासनपनि कुनै सन्तोषजनक हुन् सकेन । सेनाभित्रै भएको असन्तोषले पुनः सैनिक कू गरेर युवा क्याप्टेन इब्राहिमत्राउरेले राष्ट्रपतिको रूपमा सेप्टेम्वर ३० वाट सत्ता लिए ।
राष्ट्रपति इब्राहिम त्राउरेको योगदानः
‘बुर्किना फासो’ को युवा सैनिक (३४ वर्ष) शाहसिक क्याप्टेन इब्राहिम आज विश्वमै लोकतन्त्र अलमलमा परिरहेको, पुँजीवादी, दादागिरी मच्चिरहेको र उपनिवेशवादले नयाँ रूप खडा गरी अघि बढिरहेको बेला उदय भएको छ ।
भाग्यमा भन्दा काममा विश्वास गर्ने समाजवादी त्राउरे पश्चिम अफ्रिकी देश बुर्किना फासोमात्र नभएर सिंगो अफ्रिकी मुलुकको पुनर्जागरण बन्दै सिंगो अफ्रिकालाई जगाउँदै, बुर्किना फासोका जनतालाई मुक्तिदाता बन्दै पश्चिमा हैकमवादी र उपनिवेशवादीलाई चुनौति दिँदै अघि बढिरहेका छन् ।
उनले सत्ता सम्हालेदेखि नै विश्वचकित पार्दै विश्वलाई नै सिकाउने गरी निकै परिवर्तनीय ठूला ठूला निर्णयहरू गरेका छन् । उनका आन्तरिक (आफ्नै राष्ट्र भित्रको) र वाह्य (अन्य राष्ट्र) सँग सम्बन्धिन निर्णयहरू छन् ।
त्राउरेले केही अन्तर्राष्ट्रिय महत्वपूर्ण निर्णयहरू अन्तर्गत निकै आँटिलो भएको देखिन्छ । उनले देशलाई अन्तर्राष्ट्रिय पञ्जावाट मुक्त गर्ने, आत्मनिर्भर बनाउने र स्वाभिमानी बनाउने दिशामा उन्मुख छ । सन् २०२३ जनवरीमा फ्रान्स सँगको सम्झौता खारेज गरे ।
फ्रान्स सेनालाई आफ्नो देशबाट एक महिनाभित्र छोडेर जाने अल्टिमेटम दिएर लखेटे । फ्रान्सको उपनिवेश पूर्णरूपमा निर्मूल गरे । उनले रुस, चीन, टर्की लगायतका अनुकुल अन्तर्राष्ट्रसँग नयाँ विदेश नीति कायम गरेर अघि बढे ।
अगष्ट २०२४ मा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफको ऋण अस्वीकार गरेर विदेशी ऋण मुक्त गराए । चीनसँग सौर्य उर्जा प्लान्ट र रुससँग आणविक उर्जा प्लान्ट सम्भौता गरे । सबै अफ्रिकी राष्ट्रलाई एकतावद्ध गदै अफ्रिकी भू राजनीतिक सम्बन्ध बढाए ।
जनरल इब्राहिम त्राउरे पश्चिमाप्रति अति कडा थिए । यस लेखको प्रारम्भमा उल्लेखित भनाइहरूले पुष्टी गर्छ कि अफ्रिका र बुर्किना फासोलाई हेप्ने, च्याप्ने, दमन गर्ने, शोषण गर्ने र बुर्किनाफासोका जनतालाई कुरूप चित्रण गर्ने, सधै झुटो समाचार मात्र सम्प्रेषण गर्ने, पश्चिमा शक्ति र त्यसका मिडियाहरू सिएनएन, विविसी, फ्रान्स २४ आदिलाई उनले झपारेका छन्, थर्काएका छन् र चुनौति दिदै भनेका अभिब्यक्ति हुन् ।
उनीहरूलाई अव बुर्किना फासोमा इब्राहिम त्राउरे उदाईसकेकोले होसियार भई भ्रमको खेती बन्द हुने सूचित गरेका छन् । सिंगो पश्चिमा थर्काएका छन् ।
आन्तरिक चमत्कारी सुधारः
कृषि प्रधान देश ‘बुर्किना फासो’ लाई गरिबीबाट मुक्त गर्न, आर्थिक अवस्था उठाउन, कृषि सुधार गर्न, उनले देशका सबै कृषकलाई कृषि औजारहरू निःशुल्क वितरण गराएका छन् । घर घरमा रोजगारलाई जोड दिएका छन् ।
आफ्नो देशमा भएका प्रमुख उत्पादन गोलभेंडा, काजु, बदाम, टेक्स्टाइल प्रशोधन केन्द्रको प्रोजेक्टलाई स्थापित गरिदिए । देशको प्रमुख आर्थिक स्रोत ‘सुन’ को प्रसोधन शुरु गरे । ४२% मात्र शिक्षित रहेको देशमा उनले शिक्षा, स्वास्थ्य सबै निःशुल्क गरे ।
साउदी अरब सरकारले २०० मस्जिद बनाई दिने प्रस्ताव राख्दा अस्वीकार गरेर बरु २०० विद्यालय बनाइदिन भने । यस्तै थुप्रै आर्थिक सुधारका कार्यहरू योजनाहरू लागू गरे उनले । यसकालागि सम्पूर्ण विदेशी कम्पनीहरूलाई खारेज गरेर देशबाटै धपाए ।
आफ्नो देशका ‘खानीहरू’ आफै चलाउछौँ भन्दै काम शुरु गरे । राष्ट्रलाई मजवुत बनाउन उनले सैन्य क्षेत्रमा निकै सुधार गरेका छन् । सैन्य संरचना भित्र निकै हेरफेर गरेर आफ्ना विश्वासिलालाई नियुक्त गरे । सबैभन्दा अनुकरणीय त उनले राष्ट्रपतिकै तलब भत्ता नलिएर मात्र सेना जनरल पदको तलबले जीवन गुजारा गरे र नयाँ सरकारको मन्त्री ज्यालामा ३०% कटौति गरेर कर्मचारी ज्याला ५०% बढाए ।
आफ्नो देशमा रहेका सबै विदेशी मिडिया च्यानल लखेटेर फ्रेन्च भाषालाई पनि हटाए ।
त्राउरेको सम्मानः
सैनिक तथा शासकीय प्रशासनिक दुबै क्षेत्रमा अब्बल क्षमता भएका राष्ट्रपति जनरल त्राउरेले अहिले विश्वलाई नै नेतृत्व गर्ने सम्भावना छ । उनी चमत्कार शैलीमा अघि बढ्दैछन् । उनले आफ्नै देशको नागरिकदेखि विश्वका शक्तिशाली शासकहरूवाट सम्मानित छन् ।
वाटोमा उनलाई देख्दा र उनको फोटो देख्दा नागरिकले ढोग्छन्, भगवान मान्छन् । उनको सुरक्षाको लागि जनताहरू नै खट्छन् । त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हात मिलाएर सलाम गरे । चीनका राष्ट्रपति सि जिनपिङ्ले विश्व सुहाउँदो नेता भनेर प्रशंसा गरे ।
उत्तर कोरियाले सम्मान गर्दै चाहिँदो सैन्य सहयोग दिन्छौ भने । अफ्रिकी शोषित पीडित राष्ट्रहरूले उनलाई अविभावक र भरोसाको नेतृत्व मानेका छन् भने अरबियन मुस्लिम देशहरूले गहिरो सद्भाव राखेका छन् ।
त्राउरेको जनमुखी, मुक्तिकामी, विकासप्रेमी, राष्ट्रवादी, निडर, साहसिक र विश्व अनुकरणीय कदमहरूले उनले नैतिकता, इमान्दारिता, दक्षता, अब्वलता, सैन्य कौशलताको संसार जितेका छन् । नेपाल लगायतका विश्वका शासक र सत्ताधारीलाई पाठ सिकाएका छन् ।
संसारका उपनिवेशवादलाई हायलकायल पारेका छन् । नेपाल लगायत संसारका गरिब र प्रत्यक्ष परोक्ष, भौतिक तथा अभौतिक रूपमा नवउपनिबेशवादको शिकार भएका मुलुकहरूले राष्ट्रपति इब्राहिम त्राउरेबाट सिकेर आ– आफ्नो देशलाई सुधार, सम्बृद्ध, सम्पन्न र सुखी बनाउन मार्गदर्शन लिन जरुरी छ ।
नयाँ इतिहास रचेका त्राउरेको नयाँ खालका शासकीय स्कूलिङ्ग तथा उनको कार्यशैली र योजनाहरूलाई नेपालका शासक सत्ताधारीहरूले गुरु योजनाको रूपमा शिक्षा लिएर लाग्र गरे देश र जनताको भलो हुने थियो ।