© २०२३
काठमान्डौ, २३ कार्तिक ।
रूसको दागिस्तान राज्यमा नोभेम्बर ७ मा एक केए–२२६ मोडेलको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर नियन्त्रण बाहिर गएर क्यास्पियन सागर नजिकैको अची गाउँ क्षेत्रमा खसेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मृतकहरूमा एकै इलेक्ट्रो–मेकानिकल प्लान्ट ९केईएमजेड० का चार जना कर्मचारी र एक फ्लाइट मेकानिक समावेश छन् । कम्पनीले नोभेम्बर ८ मा जारी विज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक गरेको हो । मृतकहरूमध्ये प्लान्टका उप–महानिर्देशक पनि रहेका छन् ।
दुर्घटनाको कारण भने हालसम्म स्पष्ट भएको छैन । प्रारम्भिक चरणमा रूसी सरकारी सञ्चार माध्यमहरूले सो हेलिकप्टर पर्यटकहरू बोकेर गइरहेको बताएका थिए, तर पछि पुष्टि हुँदा उक्त हेलिकप्टर कम्पनीका प्राविधिक कर्मचारीहरूको आधिकारिक यात्रामा रहेको स्पष्ट भएको हो ।
यस दुर्घटनामा थप दुई जना घाइते भएका छन्, जसको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।
केईएमजेड रूसको एक प्रमुख रक्षा कम्पनी हो, जसले हवाई उपकरणहरू उत्पादन गर्छ । अमेरिकाले यस कम्पनीमाथि युक्रेनविरुद्धको युद्धमा संलग्न रहेको आरोपमा प्रतिबन्ध लगाएको छ ।
केए–२२६ डबल इन्जिनयुक्त हल्का हेलिकप्टर हो, जसमा अधिकतम सात जना यात्रु सवार हुन सक्छन् । दुर्घटनापछि दागिस्तानमा उद्धार र अनुसन्धान टोली परिचालित गरिएको रूसी अधिकारीहरूले बताएका छन् ।
हेर्नुहोस् हेलिकप्टर दुर्घटना भएको भिडियो–