© २०२३
काठमान्डौ, २३ कार्तिक ।
व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्ती पुगेका छन् । बस्तीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सुकुम्बासीहरूको पक्षमा उभिने घोषणा गरे ।
महानगरले बस्ती खाली गर्न दिएको एक हप्ते अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा खुलेर अघि आएका हुन् । उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सुकुम्बासी समुदायको साथ र सहयोग माग्दै, “हामी अन्यायका विरुद्ध लड्नेछौं,” भन्ने दृढता व्यक्त गरे ।
उनले सुकुम्बासीहरूलाई विस्थापित गर्ने जो कोहीलाई पनि उस्तै व्यवहार गर्ने चेतावनी दिए। त्यस्तै, प्रसाईंले सम्पूर्ण राजनीतिक दल र मेयर बालेन शाहलाई ठेगान लगाउने चेतावनीसमेत दिए ।
भेलामा उनले बालेन शाह र भिक्टर पौडेलमाथि गम्भीर आरोप लगाउँदै, बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लेनदेन भएको दाबी पनि गरे ।
दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए ।