Butwal Today

केनद्वारा मधुमेहको निःशुल्क शिविर, ४६९ जनाको परीक्षण

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, २३ कार्तिक ।

विश्व मधुमेह दिवस २०२५ को अवसरमा सचेतना जगाउने गरि रुपन्देहीमा सचेतनामूलक निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

विगत दुई दशकदेखि सेवा दिँदै आएको केन डाईबेटिज एन्ड थाईरोड सेन्टरले १९ औ संस्करणमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो ।

केन डाईबेटिज एन्ड थाईरोड सेन्टर तिलोत्तमाको प्राविधिक सहयोगमा मङ्गलापुरस्थित त्रिस्टल नलेज एकेडेमीमा दुई दिने निःशुल्क मधुमेह तथा मिर्गौला स्वास्थ्य परीक्षण शिविरमा कुल ४६९ जनाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीक्षा श्रेष्ठले बताइन ।

रगत तथा पिसाब परीक्षण गरी मधुमेह र मिर्गौला स्वास्थ्यका जाँच गरिएको उनले बताइन । जाँचको रिपोर्ट कार्तिक २५ र २६ गते सहभागीहरूलाई मधुमेह नियन्त्रण, स्वस्थ जीवनशैली र रोग रोकथामबारे परामर्श  दिई वितरण गर्ने संयोजक श्रेष्ठले बताइन् ।

विद्यालयका प्राचार्य खमेन्द्र रानाले शिक्षा र स्वास्थ्य दुवैलाई समान रूपमा प्राथमिकतामा राख्दै विद्यालयले समाजमा नयाँ सोच र सकारात्मक सन्देश दिन सफल भएको बताए। विद्यालयमार्फत विद्यार्थी र अभिभावक दुवैमा स्वास्थ्यप्रतिको चासो र जिम्मेवारीको भावना जगाउने प्रयास गरेको उनले बताए ।

केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले यो शिविर केन सेन्टरको यो वर्ष १९ औँ संस्करणको जनचेतनामूलक अभियान अन्तर्गत सञ्चालन गरिएको बताए । उनका अनुसार नेपालमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगका बिरामीहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।

असन्तुलित खानपान, शारीरिक निष्क्रियता र रोग व्यवस्थापनमा कमजोरीका कारण यस्ता समस्या बढिरहेका कक्षपतिको दाबी छ । सही समयमा परीक्षण र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न सकेमा मधुमेहका जटिलता कम गर्न सकिने उनले बताए ।

शिविरमा विद्यालयका शिक्षक, विद्यार्थीका परिवार, अभिभावक र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।