© २०२३
काठमान्डौ, २३ कार्तिक ।
भारतको राजधानी दिल्ली आइतबार बिहान वायु प्रदूषणको चपेटामा परेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का तथ्यांकअनुसार बिहान ७ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ३९१ मापन गरिएको छ, जसलाई ‘धेरै खराब’ श्रेणीमा वर्गीकृत गरिएको छ ।
बीबीसी हिन्दीका अनुसार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु प्रदूषणको स्तर अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ, जहाँ एक्यूआई ४०० भन्दा माथि पुगेको छ । सीपीसीबीले सार्वजनिक गरेको विवरणअनुसार आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ ।
त्यसैगरी, चाँदनी चोकमा ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ एक्यूआई मापन गरिएको छ । यी सबै क्षेत्रहरू अत्यधिक प्रदूषित ‘गम्भीर’ श्रेणीमा पर्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विशेषज्ञहरूको चेतावनी छ ।
यसअघि शनिबार बिहान पनि दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमै थियो । त्यसबेला बिहान ८ बजे औसत एक्यूआई ३५५ मापन गरिएको थियो ।