© २०२३
काठमाडौं, २३ कार्तिक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। बैंकले साना तथा मझौला व्यवसायीहरूलाई सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो योजना सुरु गरेको हो।
यस योजनाअन्तर्गत व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्नेछ। योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको २५ प्रतिशतसम्म, न्यूनतम रु. ५० हजारदेखि अधिकतम रु. ५ लाख सम्म ऋण लिन सक्नेछन्। सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहेकोले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइनमार्फत आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्।
बैंकका प्रमुख कर्जाअधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले उक्त अवसरमा भने, “क्यूआर मर्चेन्ट लोन सिटिजन्स बैंकको डिजिटल यात्राको एक महत्वपूर्ण माइलस्टोन हो। यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सहज र दिगो बनाउनेछ।”
सिटिजन्स बैंकले यसअघि पनि बैंकिङ नवप्रवर्तनका धेरै पहलहरू अघि सारेको छ — जसमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड), फ्रिलान्सर सेविङ अकाउन्ट, मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा रिचार्ज नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता डिजिटल सेवा समावेश छन्।
विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर २०२४” उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
यस नयाँ डिजिटल ऋण योजनाले साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँचमा सहजता ल्याई उनीहरूको व्यवसाय विस्तारमा ठोस सहयोग पुग्ने बैंकको विश्वास छ।