© २०२३
बुटवल, २३ कात्तिक ।
नेकपा (एमाले) ले प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउने उद्देश्यसहित सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत रुपन्देहीका अधिकांश पालिकामा वडा स्तरीय विस्तारित भेला सम्पन्न गरेको छ। जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सचिव बालकृष्ण पाण्डेका अनुसार जिल्लाका तीन पालिका बाहेक अन्य सबै पालिकामा भेला सम्पन्न भएका छन्।
भेलाका प्रमुख वक्ताहरूले जनताको बलिदानीपूर्ण संघर्षबाट निर्माण भएको नेपालको संविधान २०७२ लाई कमजोर पार्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टीलाई वैचारिक र राजनीतिक रूपमा सुदृढ बनाउँदै जनतामाझ सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूका अनुसार जेन्जीको आन्दोलनका नाममा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकतामाथि आक्रमण हुन थालेकाले एमालेले देशव्यापी जनसंगठनलाई सक्रिय बनाएको जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग सचिव बालकृष्ण पाण्डेले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकामा १७ वटावडामा भेला सम्पन्न भएको र बाँकी दुई वडामा कात्तिक २३ गतेसम्म सम्पन्न हुने जनाइएको छ। तिलोत्तमा नगरपालिकामा १६ वटै वडामा तथा सैनामैना नगरपालिकामा १० वटावडामा भेला सम्पन्न भएका छन्। देवदहमा ९ वडामा, सिद्धार्थनगरमा ७ वडामा, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ वडामा र शुद्धोधन गाउँपालिकामा ७ वडामा सफलतापूर्वक भेला सम्पन्न भएको छ।
यस्तै सम्मरीमाई गाउँपालिकामा ६ वडामा, मर्चवारीमाईमा सबै ७ वडाका प्रतिनिधिहरूको संयुक्त भेला, मायादेवी गाउँपालिकामा ८ वडामा, कोटहीमाई गाउँपालिकामा ७ वडामा र गैडहवा गाउँपालिकाका सबै वडामा कार्यक्रम सम्पन्न भएका छन्। प्रत्येक पालिकामा जिल्ला र प्रदेशस्तरका नेताहरूले सम्बोधन गर्दै युवापुस्तालाई पार्टीको गतिविधिमा जोड दिन आह्वान गरेका थिए।
भेलाहरूको व्यवस्थापन सम्बन्धित पालिका कमिटीहरूले गरेका थिए। कार्यक्रमहरूमा जिल्ला कमिटीका सदस्य, प्रदेशसभा सदस्य, पालिका अध्यक्षहरू लगायत स्थानीय नेताहरूको उल्लेखनीय सहभागिता रहेको एमाले रुपन्देहीले जनाएको छ।