Butwal Today

राजनीतिक दलमा संलग्न भए शिक्षक र कर्मचारीमाथि कारबाही हुने

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २३ कार्तिक ।

शिक्षक, प्राध्यापक र शैक्षिक संस्थाका कर्मचारी राजनीतिक दलमा संलग्न भएको प्रमाणित भए सरकारले कारबाही गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले एक ध्यानाकर्षण पत्र जारी गर्दै राजनीतिक संलग्नता देखिए कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएका हुन् ।

‘आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व र आचरण विपरीत विद्यालय वा विश्वविद्यालयजस्ता शान्ति क्षेत्रको मर्मविपरीत क्रियाकलाप गर्ने कसैलाई पनि मन्त्रालयले प्रचलित कानुनअनुसार कारबाही गर्नेछ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मन्त्री पुनका अनुसार कुनै पनि पेशागत ऐनले शिक्षक वा प्राध्यापकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । उनले भने, ‘पेशागत हकहितका लागि मात्र आवाज उठाउने अधिकार छ, तर राजनीतिक दलको गतिविधिमा संलग्न हुने अधिकार छैन । यस्तो गतिविधि गरेको पाइएमा पदबाट वर्खास्त गर्न सकिने कानूनी व्यवस्था छ ।’

यस्तै मन्त्री पुनले शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघ–सङ्गठनलाई मन्त्रालयले अब औपचारिक मान्यता नदिने निर्णय पनि सार्वजनिक गरेका छन् ।

‘संघ सङ्गठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानूनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्दछु,’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :