© २०२३
गुल्मी, २२ कार्तिक ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति कार्य सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घर टहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दाहरूलाई अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घर टहरा, पसल र अन्य संरचनाहरूले सडक निर्माणको काममा अवरोध पु¥याइरहेको भन्दै गाउँपालिकालाई समयमा नै उक्त संरचना हटाइदिन पत्राचार गरेको गरेको हो ।
रुरुक्षेत्र गाउँपालिकाको वडा नं. १ को रिडी बजार, वडा नं. ३ को पानीटंकी क्षेत्र तथा वडा नं. ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्ड भित्र पर्ने घर टहरा लगायतका संरचनाहरू हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यालयको आग्रह अनुसार गाउँपालिकाले सार्वजनिक रूपमा सूचना जारी गरी चाँडो भन्दा चाँडो उक्त संरचनाहरू हटाउनका लागि स्थानीय बासिन्दाहरूलाई आग्रह गरेको हो ।
सडक छेउका संरचना समयमा नहटाउँदा धुलोका कारण स्थानीय बासिन्दा प्रभावित हुने, निर्माण कार्यमा ढिलाईहुने र क्षतिपूर्ति उपलब्ध गराउने काममा समेत ढिलाइ हुनसक्ने भन्दै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
साथै क्षतिपूर्तिको हकमा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । गाउँपालिकाले उद्योग वाणिज्य सङ्घहरूलाई बजार क्षेत्रमा रहेका संरचना हटाउने कममा आवश्यक सहजीकरण गर्न आग्रह समेत गरेको छ ।
सडक निर्माण कार्यका लागि २०७९ फागुन २६ मा समानान्तर–ए लाइट जेभी काठमाडौँ मार्फत एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक खण्डमा आउँदो फागुन महिनासम्म कालोपत्रे गर्ने काम सकिने मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिएका छन् ।
रिडी–तम्घास सडक जिल्लाको सबै भन्दा पुरानो सडक अन्तर्गत पर्दछ ।