© २०२३
बुटवल, २२ कार्तिक । रुपन्देहीको सैनामैनामा सम्पन्न द बुद्ध फुटसल कप एक दिने खुला फुटसल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवलले चुमेको छ । सैनामैना–३ मुर्गियास्थित कृपा फुटसल एण्ड फिटनेसमा भएको फाइनलमा सह–आयोजक शान्तिदिप युवा क्लब, मुर्गियालाई ५–३ गोल अन्तरले पराजित गर्दै खस्यौली च्याम्पियन बनेको हो ।
विजेता खस्यौली उपाधिसहित नगद ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता शान्तिदिपले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विधातर्फ खस्यौलीका अस्मित शर्मा फाइनल खेलको म्यान अफ दि म्याच बने । उत्कृष्ट गोलरक्षक पनि खस्यौली कै अनुप राना, सर्वाधिक गोलकर्ता खस्यौली कै कप्तान भुवन मगरले हात पारे ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक शान्तिदिपका सुजित चौधरी घोषित भए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष दर्लामी मगर, प्रतियोगिताका विशेष सहयोगी सुवास क्षेत्री, खेल संयोजक रेशम पुन लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक रेशम पुनले बताए ।