© २०२३
काठमाडौं ।
हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार बिहान हङकङको मिसन रोड ग्राउन्ड, मोङकोकमा सम्पन्न खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।
नेपालका लोकेश बमले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए भने लोकेश बमले १४ र आदिल आलमले १३ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए ।
यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
नेपालले आजै हङकङ र कुवेतसँग पनि खेल्नेछ । आइतबार नेपाल यूएईविरुद्ध मैदान उत्रिनेछ ।
नेपाली टोली शरद भेषावकरको कप्तानीमा खेलिरहेको छ । नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान र दक्षिण अफ्रिका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई रहेका छन् । समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान छन् भने समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन् ।