© २०२३
चन्द्रौटा, २२ कार्तिक ।
“पहिला घरभित्रै बस्नुपर्थ्यो । अहिले यो व्हीलचेयर पाएपछि म आफ्नै हातले हिँड्न सक्छु । यो केवल कुर्सी होइन, स्वतन्त्रताको सिँढी हो ।” व्हीलचेयर प्राप्त गरेका कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुरका कमल रिजालले खुसी हुँदै भने ।
त्यस्तै, हेडफोन पाएकी एक युवतीले सुनिन्, “यो हेडफोनले मलाई अरूसँग जोडिने अवसर दिन्छ । सुन्न नसक्ने भए पनि अनुभव गर्न सक्छु ।” उनी भन्छिन् ‘पहिले म मौन संसारमा थिएँ, अब प्रत्येक कम्पनले मलाई जिन्दगीको धड्कन सुनाउँछ ।
यो हेडफोनले मलाई आवाज मात्र होइन, आत्मविश्वास पनि दिएको छ । शिवराज नगरपालिकाका मेयर अजय थापाले अपाङ्गता भएका नागरिकहरू हाम्रो समुदायका अभिन्न हिस्सा रहेको बताए । उनका अनुसार उनीहरूलाई सहज र सम्मानजनक जीवनका लागि सहयोग पु¥याउनु नै दायित्व हो ।
यस्तै उपमेयर शिवकुमारी थारुले पनि यस्ता पहलहरूलाई नियमित रूपमा अघि बढाइने बताइन् । सबैको जिउने सम्मान अधिकार रहेको बताउँदै यस्ता योजनाले उनीहरूको आत्मबलमा विकास भएको उनले उल्लेख गरिन् ।
‘हाम्रो लक्ष्य भनेको अपाङ्गता भएका नागरिकहरूलाई निर्भर होइन, आत्मनिर्भर बनाउनु हो ।’, उपमेयर थारुले भनिन् । यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष सापकोटाले वितरण गरिएको सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकीमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
नगरपालिकाले शुक्रबार शारीरिक अपाङ्गता भएका २० जनालाई दैनिकी सहज बनाउन विभिन्न सहायक सामग्री वितरण गरेको हो । ९ जनालाई व्हीलचेयर, २ जनालाई वैशाखी, २ जनालाई ट्राई साइकल, ३ जनालाई एयर कुशन, १ जनालाई बैशाखी (लौरा), र ३ जनालाई हेडफोन प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख जिबा केसीले जनाइन् ।